आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला गरेको छ । यसअघि कम्पनीले बुधबारदेखि आईपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण जनाउँदै बिहीबारबाट आवेदन खुला गरेको हो ।
इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ । कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्दैछ ।
यसमध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।