सहकारी विभागले ३ महिनाको लागि ऋणको पुर्नतालिकीरण गर्न सक्ने व्यवस्था गरेको छ। विभागले आज सहकारी संघ संस्थाका लागि एक निर्देशन जारी गर्दै ऋणी सदस्यमा परेको प्रभाव मुल्यांकन गरी सदस्यको मागका आधारमा गत आ.व. मा खराब ऋणीको सूचीमा नपरेका तथा गत आ.व. मा कर्जा पुर्नतालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशतसम्म ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि मात्र सो सुविधा दिन भनेको छ।
त्यसैगरी २०७९/८० को ब्याज २०८० श्रावण १५ गतेभित्र भुक्तानी प्राप्त भएमा यसै आर्थिक बर्षको आयको रुपमा गणना गर्न सक्ने सुविधा सहकारी संस्थाहरूलाइ विभागले दिएको छ ।
सहकारी संघसंस्थाले आफ्ना सदस्यसँग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यको विश्वास जित्न, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बचत वृद्धि र भाखा नाखेको ऋण असुलीलाई प्रभावकारी बनाउन र कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी संघ संस्थाले कृषि उत्पादनमा वृद्धि, सामुहिक खेतीको प्रवर्धन, सदस्यहरुको उत्पादनको बजारीकरण गरी उनीहरुलाई कृषिको व्यवसायिकरणमा प्रेरित गर्न भनेको छ ।
सहकारी क्षेत्रको पूर्नःउत्थान गर्नका लागि सहकारी ऐन, २०७४ को दफा २३, दफा २५ को खण्ड (ज) र दफा ९५(५) एवं सहकारी नियमावली, २०७५ को नियम ७२ (३) र नियम ७६ (१) (झ) बमोजिम विभागले ५ बुँदे निर्देशन जारी गरेको हो ।