नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले सहकारी बिग्रँदा मुलुकको अर्थप्रणाली नै धरापमा पर्न सक्ने जनाएका छन् ।
‘सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय’ विषयक कार्यक्रममा बोल्दै उनले सहकारी ऐन २०७४ को कार्यान्वयन नै आजको सबैभन्दा ठूलो चुनौति बनेको बताए । सहकारीमा आजको अवस्था सिर्जना हुनुमा २०७४ सालमा आएको ऐन प्रभावकारी ढंगले कार्यान्वयन नहुनु रहेको उनले बताए ।
बचतकर्ता स्वयंले बचत सुरक्षाको प्रत्याभूति दिन आवश्यक रहेको उनको भनाई छ। संस्थाको स्वामित्व, नियन्त्रण र फाइदाबारे सदस्य स्वयम् सचेत हुन आवश्यक रहेको उनले बताए । उनले अहिले मनोवैज्ञानिक ढंगले सहकारी संस्थाहरूप्रति अविश्वासको वातावरण सिर्जना भएको बताए ।
‘मनोवैज्ञानिक ढंगले संस्थाप्रति अविश्वास सिर्जना भएको छ । सञ्चालक समितिको निर्दिष्ट आचरणको समस्या होला एकातिर, अर्कोतिर त्योभन्दा द्रुत्ततर ढंगले सदस्यहरुको विश्वासमा समस्या सिर्जना भएको छ । सदस्यहरुको विश्वास र सञ्चालक समितिको निर्दिष्ट आचरणलाई जोड्ने काम सरकारले गर्नुपर्छ, हामीले गर्नुपर्छ,’ उनले भने ।
केही सहकारी संस्थाका नेतृत्वले अवाञ्छित क्रियाकलापले सिंगो सहकारीमा समस्या र अविश्वासको वातावरण सिर्जना भएको उनको धारणा थियो ।