मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरी २९औं स्थापना दिवस मनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय चरिकोटमा आयोजना रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका हुन् । कोरोना माहामारीबाट बच्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण विगतका वर्षहरुमा जस्तो उल्लेख्य मात्रामा रक्तदाताहरुको सहभागिता नरहेको प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए ।
२०५० साल भाद्र ७ गते संस्था स्थापना भई २०५० साल मंसिर २ गतेबाट विधिवत् रुपमा कारोबार सञ्चालन गरेको संस्थाले आजकै दिनलाई स्थापना एवं कारोबार सञ्चालन दिवसको रुपमा मनाउँदै आएको छ ।
संस्थाले आर्थिक वर्ष २०७७।०७८ को उत्कृष्ट शेयर सदस्य, बालबचतकर्ता, नियमित बचतकर्ता, शेयर खरिदकर्ता, उत्कृष्ट उद्यमी, पूर्व सञ्चालक, पूर्व लेखा सुपरीवेक्षण समिति सदस्य, पत्रकार, सेवा केन्द्र र कार्यरत कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार दिने घोषणा समेत गरेको छ । संस्थाको आगामी साधारणसभामा घोषित सम्मान तथा पुरस्कार वितरण गरिने न्यौपानेले बताए ।
२६ जनाबाट सुरु भएको यस संस्थामा हाल २२ हजार ८ सय ८ जना सदस्य ९१२०४३ महिला र १०७६५ पुरुष आवद्ध छन् । त्यस्तै ८ हजार ९ सय ११ जना बाल बचतकर्ता रहेका छन् । ५६ सय पुँजीबाट सुरु भएको संस्थाको २०७८ असार मसान्तसम्म आईपुग्दा कुल वासलात १ अर्ब २५ करोड पुगेको छ । संस्थाको सेयर पूँजी ९ करोड १९ लाख, ८६ करोड ६७ लाख बचत संकलन गरी ९२ करोड ५७ लाख ऋण लगानी गरेको छ । संस्थाका विभिन्न कोषमा ९ करोड ९७ लाख रुपैयाँ रहेको छ ।
दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थाले १ मुख्य कार्यालय र ८ वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रवाह गरिरहेको छ ।