राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले महामारी र मन्दीकाबीचमा पनि सहकारी संस्थाहरूले समुदाय र सदस्यका लागि अनुकरणीय काम गरको बताएकी छिन् । समुदायमा आधारित अधिकांश सहकारीले राम्रो काम गर्दै आएको भए पनि केही सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न नसक्दा सिंगो सहकारी क्षेत्रमाथि नै प्रश्न चिन्ह उठेको उनले बताइन् ।
राष्ट्रिय सहकारी महासंघले १०१औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी संस्थाहरु लाग्नु पर्ने बताइन् । गरिबीको अन्त्य, शुन्य भोकमरी, समुन्नत समाज निर्माण, लैगिङ्ग समानता लगायतका क्षेत्रमा सहकारीले काम गर्न सक्ने उनको भनाइ छ ।
अन्तराष्ट्रिय सहकारी दिवसको नारा पनि दिगो विकास प्राप्तिका लागि सहकारी भएको भन्दै सुब्बाले त्यसका लागि नेपालका सहकारीले पनि काम गर्नु पर्नेमा जोड दिइन्। एसडिजीका १७ वटा लक्ष्य प्राप्त गर्न के गर्न सकिन्छ भनेर प्रत्येक सहकारी संस्थाले स्ट्राटेजिक र बिजनेस प्लानमा नै राखेर अगाडि बढ्न संघसंस्थालाइ उनले सुझाइन् ।
एसडिजीका लक्ष्य प्राप्तिका लागि गरेका कामहरुको सूचि बार्षिक प्रतिवेदनमा समेट्न भन्दै उनले सहकारी क्षेत्रले गरेको काम समेत देखिने उल्लेख गरिन् । कोभिड १९ का कारण आपुर्ति श्रृङ्खलामा परेको प्रभावका कारण अर्थतन्त्रमा समस्या पर्दा त्यसको असर सहकारी क्षेत्रमा परेको उनको भनाइ छ । त्यसमा पनि सिद्धान्त बाहिर चलेका सहकारी संस्थालाई सबै भन्दा बढी असर परेको उनले जनाइन् । दक्ष तथा व्यवसायिक जनशक्तिको अभावले सहकारी क्षेत्रले फड्काे मार्न नसकेको अवस्थामा महासंघले डिप्लोमा इन कोअपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालनमा ल्याएको सुब्बाले जानकारी दिइन । यसले दक्ष जनशक्ति उत्पानदमा सहयोग पुगी सहकारी क्षेत्रलाई व्यवस्थित गर्न टेवा पुग्ने उनको विश्वास छ ।