एनएनबि बैंकले ५ मिनेटभित्रै कर्जा उपलब्ध गराउने भएको छ । बैंकले डिजिटल कृषि एप ‘खेती’ सँगको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारिक शुभारम्भ गरेका हो ।
यो कर्जामार्फत किसानहरुले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिएर ५ मिनेटभित्रै कर्जा पाउन सक्ने बैंकले जनाएको छ।
वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन् भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक सुरु गरिएको जनाइएको छ।
किसानहरुले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य वस्तु तथा उपकरणहरु खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दीमा बिना धितो प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यो ऋण लिनका लागि आवश्यक कागजातहरु पेस गर्नुपर्ने झन्झट गर्नु नपर्ने बैंकले जनाएको छ।
यो कर्जा अन्तर्गत ग्राहकहरुले ३ महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा पाउने र कर्जा चुक्ता गरिसकेपछि फेरि अर्को कर्जा तुरुन्तै पाउने बैंकले जनाएको छ।
एनएमबि खेती कर्जा प्राप्त गर्नको लागि ग्राहकहरुले एनएमबि बैंकमा खाता खोलेको हुनुपर्छ भने खेती एप अनिवार्य डाउनलोड गरेर एपमा भएका फिचरहरुको प्रयोग गर्दै ग्राहक पहिचान विवरण भर्नुका साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको हुनुपर्ने बैंकले जनाएको छ। साथै रोग तथा किरा नियन्त्रण, फर्म सुरु जस्ता खेतीका महत्वपूर्ण चरणहरुमा पूर्ण सहभागी भएको हुनुपर्ने सर्त राखिएको छ।