बुधबार, कार्तिक १२ गते २०८३

ज्योति मिर्मिरे सामुहिक साकोस बागमती प्रदेश स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट पुरस्कृत

आषाढ १६, २०८० शनिबार
ज्योति मिर्मिरे सामुहिक साकोस बागमती प्रदेश स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट पुरस्कृत

 काभ्रेको पनौती नगरपालिकामा रहेको  ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाले बागमती प्रदेश स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार(२०७९ )बाट पुरस्कृत भएको छ । १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संस्थालाई नगदसहित पुरस्कृत गरेका थिए । राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कार यस पटक ज्योति मिर्मिरे सामुहिक साकोसले पाएको हो । पुरस्कार ग्रहणमा संस्थाका अध्यक्ष उद्धव सापकोटासहित सञ्चालक र कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

ज्योति मिर्मिरे समुदायमा आधारित नेपालकै एक उत्कृष्ट संस्था  हो । संस्था यसअघि नेपाल बचत तथा ऋण सहकारी संघ ९नेफ्स्कून०बाट तीन विधामा पुरस्कृत भैसकेको छ। पहिल्लो पटक २०७६ सालमा नेफ्स्कूनले प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरेको थियो । त्यस्तै संस्थाले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून )ले पनि उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरेको थियो । त्यसैगरी पनौती नगरपालिकाबाट नगरस्तरीय उत्कृष्ट व्यवस्थापक पुरस्कार संस्थाले पाईसकेको छ।

२०८० जेठ मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थामा १५ हजार १ सय ८० जना आवद्ध छन् । संस्थाको सेयर पुँजी १० करोड ८१ लाख, जगेडा कोष ५ करोड ५६ लाख, विभिन्न कोष ३ करोड २५ लाख, संस्थागत पुँजी ६ करोड, बचत ७३ करोड ५० लाख, ऋण लगानी ८४ करोड ८१ लाख र कुल सम्पत्ति १ अर्ब ११ करोड रहेको छ । संस्थासँग २० प्रतिशत माथी तरलता रहेको छ ।