शनिबार, आश्विन १७ गते २०८३

राष्ट्र बैंकको आर्थिक अध्ययनः गत बर्षको तुलनामा सहकारीको पुँजी बृद्धि घट्याे

आषाढ १४, २०८० बिहीबार
राष्ट्र बैंकको आर्थिक अध्ययनः गत बर्षको तुलनामा सहकारीको पुँजी बृद्धि घट्याे


सहकारी संस्थाहरुमा बचत र पुँजी वृद्धि घटेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको  आ.ब. २०७९/८०को अर्ध बार्षिक आर्थिक गतिविधि अध्ययनले गत बर्षको तुलनामा सहकारी संस्थामा पुँजी र बचत  वृद्धि  घटेको देखाएको हो ।

राष्ट्र बैंकले सातै प्रदेशमा  रहेका सहकारी संस्थाहरुमध्ये हरेक प्रदेशबाट १० वटाका दरले नमुना छनौट गरि गरेको अध्ययनले यस्तो देखाएको हो  । छनौटमा परेका कुल ७० सहकारी संस्थाहरूको कुल पुँजी ९.०२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १८.१४ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा उक्त सहकारीहरुको कुल बचत ०.५४ प्रतिशतले घटेको छ भने कुल कर्जा ०.७२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा उक्त सहकारीहरुको सदस्य संख्या १०.४४ प्रतिशतले वृद्धि भएको छ भने गत वर्षको सोही अवधिमा सदस्य संख्या १२.२० प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा सहकारीहरुको कर्मचारी संख्या ७.९२ प्रतिशतले वृद्धि भएको छ भने गत वर्षको सोही अवधिमा कर्मचारी संख्या १४.०८ प्रतिशतले वृद्धि भएको थियो ।

विश्वमा आएको आर्थिक मन्दीको प्रभाव सहकारी क्षेत्रमा सबै भन्दा बढी परेको देखिएकाे छ । सिद्धान्तबाहिर गएर चलेका कतिपय सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न सकेका छैनन् । यसले गर्दा सहकारीप्रति आम सदस्यको विश्वास गुम्दै गएको छ भने सहकारीबाट बचत निकालेर बैंकमा लैजाने क्रम समेत बढेर गएको छ । यसले गर्दा सहकारी संस्थाहरुमा पुँजी र बचत वृद्धि गत बर्षको तुलनामा कम भएको देखिएकाे छ । आर्थिक क्रियाकलापमा सुधार आउन अझै केहि समय लाग्ने देखिएकाले सहकारी संस्थाहरुको बचत र पुँजी तत्काल नबढ्ने कतिपयको विश्लेषण रहेको छ ।