शनिबार, आश्विन १७ गते २०८३

आरटिजिएस प्रणालीमा सहभागी वित्तीय संस्थाले मात्र दैनिक तरलता सुविधा पाउने 

आषाढ १३, २०८० बुधबार
आरटिजिएस प्रणालीमा सहभागी वित्तीय संस्थाले मात्र दैनिक तरलता सुविधा पाउने 

 

नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गरेको छ । कार्यविधिको यो तेस्रो संशोधन हो । दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि, २०७६ लाई तेश्रो संशोधन गरिएपछि राष्ट्र बैंकबाट सञ्चालित आरटिजिएस प्रणालीमा सहभागी संस्थाले मात्र दैनिक तरलता सुविधा उपयोग गर्न पाउने उल्लेख छ । दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले कम्तीमा दुईजना आधिकारिक व्यक्तिको दस्तखत र संस्थाको छाप लागेको निवेदन विभागमा पेश गर्नुपर्नेछ ।

निवेदनको ढाँचा अनुसूची १ मा उल्लेख भएबमोजिम हुने, दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले यस बैंकको मौद्रिक व्यवस्थापन विभागसँग दैनिक तरलता सुविधासम्बन्धी सम्झौता गर्नुपर्नेछ । सम्झौताको ढाँचा कार्यविधिको अनुसूची–२ मा उल्लेख भएबमोजिम हुने उल्लेख छ ।

दैनिक तरलता सुविधा रकम सीमालाई बैंकको धितो व्यवस्थापन खातामा जम्मा गर्ने प्रयोजनका लागि धितो व्यवस्थापन खाता खोल्न राष्ट्र बैंकको बैंकिङ विभागमा निवेदन दिनुपर्नेछ । निवेदनको ढाँचा अनुसूची–३ मा उल्लेख भएबमोजिम हुनेछ । सोही आधारमा बैंकिङ विभागले प्रचलित लेखा निर्देशिका तथा बैंकिङ कार्य निर्देशिका बमोजिम निवेदक संस्थाको नाममा खाता खोली खाता नम्बर प्रदान गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।