राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलबार उदघाटन गरेका हुन् । शाखा कार्यालय नक्साल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद, चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोवाइल बैंकिङ्ग सेवा, एटिएम सेवा लगायतको रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीहरुलाई बैंकिङ्ग सेवा लिन थप सहज हुने उल्लेख गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ्ग सेवा दिने बताउँदै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे । बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको बताउँदै सीइओ श्रेष्ठले प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिएको उल्लेख गरे ।
बैंकले ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, लगायत विविध प्रकारका डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।