मंगलबार, कार्तिक ११ गते २०८३

सहकारीमा अध्यक्षको भूमिका विषयक लघु गोष्ठी  

आषाढ १२, २०८० मंगलबार
सहकारीमा अध्यक्षको भूमिका विषयक लघु गोष्ठी  
 
 राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारीमा अध्यक्षहरुको भूमिका विषयक एक दिने लघुगोष्ठी सोमबार सम्पन्न भएको छ । 
 
 सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालनका लागि अध्यक्षले खेल्नु पर्ने नेतृत्वदायी भूमिकाका विषयमा छलफलका लागि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।  कार्यक्रमका सहभागीहरुले आगामी दिनमा सहकारीहरुलाई थप प्रभावकारी बनाउनका लागि शेयर सदस्यहरुसंगको सम्बन्धलाई प्रभावकारी बनाउने, संस्थाबाट ऋण लगेका शेयर सदस्यहरुलाई ऋणको ब्याज र किस्ता समयमै भुक्तान गर्ने वातावरण बनाउन राज्यका निकायसंग समन्वय गर्नु पर्नेमा जोड दिएका थिए । 
 
केही सहकारी संस्थाहरुले वचत फिर्ता गर्न नसकेका कारण सबै सहकारीप्रति अविश्वास बढ्दै गएको भन्दै सहभागीहरुले खरावलाई कार्वाही गर्न र राम्रो काम गर्नेहरुप्रति विश्वासको वातावरण बनाउन सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताए ।  सहकारीहरुलाई समस्या पर्दा छाता संघहरु र राष्ट्रिय सहकारी बैंकले सहजीकरणको काम गर्नु पर्ने, राज्यका निकायहरुले नियमनलाई प्रभावकारी बनाउनु पर्नेमा सहभागीहरुको जोड थियो ।
 
 राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको समसामयिक अवस्था तथा बैंकका तर्फबाट भैरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए । बैंकका शाखा प्रमुख युवराज त्रिपाठीले बैंकको वित्तीय अवस्था र शाखाबाट सञ्चालन भैरहेका सेवाहरुका बारेमा जानकारी गराएका थिए ।