बुधबार, कार्तिक १२ गते २०८३

सहकारीमा देखिएको समस्या समाधान नभएसम्म बागमतीमा सहकारी दर्ता बन्द

आषाढ १०, २०८० आइतबार
सहकारीमा देखिएको समस्या समाधान नभएसम्म बागमतीमा सहकारी दर्ता बन्द


बागमती प्रदेश उद्योग,पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सहकारीका बर्तमान समस्या हल नभएसम्मको लागि प्रदेश सरकारले सहकारी दर्ता रोकेको बताएका छन् । बागमती प्रदेश सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले सयुक्त रुपमा आयोजना गरेको ‘प्रदेश सहकारी ऐन, नियमावली कार्यान्वयन र संशोधनमा साझा पहल’ कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उनले सहकारीका समस्या हल नभएसम्म दर्ता प्रक्रिया रोक्न निर्देशन दिएको बताए ।

त्यसैगरी सहकारी प्रति आम सदस्यको विश्वास टुटेको भन्दै उनले सरकार र अभियानको साझा प्रयास बाट पुनः सदस्यको विश्वास जागृत गर्नुपर्ने उल्लेख गरे । ‘केही सहकारीले गरेको बदमासीका कारण आम सहकारीमा विश्वासको संकट आएको भन्दै उनलेसहकारीप्रति सदस्यको विश्वास फर्काउन आवश्यक रहेको बताए । विश्वासको संकटका कारण राम्रा र नराम्रा सबै सहकारीलाई सदस्यले एउटै डालोमा हालेर हेर्ने गरिएको उनको भनाई छ । बैंकले पनि सबै निक्षेपकर्ता एक् पटक निक्षेप फिर्ता लिन आए भने दिन नसक्ने भन्दै विश्वासको कमीले सहकारीमा अहिले त्यस्तै अवस्था सृजना भएकाे उनले जनाए । सहकारीले समाजवादाेन्मुख अर्थतन्त्रलाई टेवा पुर्याएको र बागमती सरकारले पनि सहकारीलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनले जानकारी दिए ।

आगामी आर्थिक बर्षको बजेट बक्तव्यमा सहकारी रजिष्ट्रार कार्यालय स्थापना गर्ने कुरा आएको र काठमाडौंमा नै कार्यालय खोल्ने योजना रहेको उनको भनाई छ । प्रदेशमा काठमाडौंका सहकारीको धेरै उजुरी आएको उनले बताए । पालिकास्तरका सहकारी ऐननियममा एकरूपता ल्याउन आवश्यक रहेको भन्दै त्यसका लागि बागमतीमा रहेका ११९ तहबीच छलफल तथा अन्तरक्रिया सञ्चालन गने समेत मन्त्री मर्हजनले उल्लेख गरे । बागमती प्रदेश सहकारी संघले १४ बुँदे ऐन र ४ बुँदे नियामवली संशोधनका लागि अगि सारको भए पनि मन्त्री मर्हजनले यसलाई अर्झ परिस्कृत गरेर ल्याउन सुझाव दिए ।