सिन्धुलीको मरिण गाँउपालिकाले एकिकरणमा जाने सहकारी संघसंस्थालाई प्रोत्साहन गर्न व्यवसाय करमा छुट दिने भएको छ ।
गाँउपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाले एकिकरणमा जाने संस्थाहरुको हकमा व्यवसाय कर छुट दिने नीति लिएको हो ।
त्यसैगरी कृषि क्षेत्रसँग सम्बन्धित उत्पादन, प्रशोधन,तथा बजारीकरण एंव प्रवर्धनको लागि सहकारीमा आवद्ध गर्ने नीति अबलम्बन गर्ने, सामाजिक सुरक्षा भत्ता एवं सुविधाहरु सहकारीमार्फत् वितरण गर्ने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बाँझो जग्गा उपयोग हुने गरी सहकारी मार्फत् सामुहिक तथा व्यवसायिक खेती प्रवर्धनका लागि पहल गर्ने, बचत तथा ऋण सहकारी संस्थालाई उत्पादन तथा श्रम क्षेत्रमा केन्द्रित हुने नीति अवलम्बन गर्ने र स्थानिय श्रोत, साधन, सीप र पुँजीको अधिकतम परिचालन गरी गाँउपालिकाको आर्थिक, सामाजिक रुपान्तरण्त गर्ने नीति लिईएको उल्लेख छ ।
त्यसैगरी सहकारी मार्फत गरिबी न्युनिकरण एंव सामाजिक पुँजी निर्माण गर्दै स्वरोजगार तथा रोजगार सृजना गर्ने, गाँउपालिका क्षेत्र भित्र रहेका संस्थाहरुको क्षमता विकास गर्न कार्यक्रम सञ्चालन गर्ने तथा संस्थाहरुको नियमित अनुगममन गरी वित्तीय रुपमा सुरक्षित बनाउने कार्य गर्ने नीतिमा उल्लेख छ ।
श्रम सहकारी गठन गरी प्रत्येक वडामा ५० जनालाई नियमित रोजगारीको प्रत्याभुति गर्ने नीतिलाई तत्काल लागु गर्ने,सीपलाई प्रधानता दिई प्रतिस्पर्धी, बजारको माग अनुसार खपत हुन योग्य दक्ष जनशक्ति उत्पादनमा जोड दिने, आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आवद्ध गर्ने नीति लिने, समान प्रकृति र उदेश्यका सहकारीलाई दक्षतार्पुवक संञ्चालन गर्ने र तिन खम्बे नीति अनुसार संघ, प्रदेश र स्थानीय तहको आपसी समन्वय र सहकार्य गरी अगाडी बढ्ने नीति गाँउपालिकाले लिएको छ ।