तपाईंको बैंकमा खाता छ भने तपाईंले विभिन्न शीर्षकमा बैंकले शुल्क गरिरहेको हुन्छ । तपाईंको खाताबाट के कति रकम शुल्क बैंकले काटिरहेको छ भनेर सजग हुनुपर्छ ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरु निःशुल्क दिनुपर्छ । अधारभूत वित्तीय सेवामा सबैकाे सहज पहुँच हुनुपर्छ भन्ने मान्यतामा नेपाल राष्ट्र बैंकले यी शीर्षकमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले शुल्क लिन नपाउने भनेर निर्धारित गरेको छः
१. खाता खोल्दा
२. चेक जारी गर्दा (गुड फर पेमेन्ट समेत)
३. चेकको स्टप पेमेन्ट गर्दा
४. ब्यालेन्स सर्टिफिकेट प्रदान गर्दा
५. खाता सञ्चालन बन्द गर्दा
६. खाता बन्द गर्दा
७. स्टेटमेन्ट लिँदा
८. विप्रेषण रकम खातामा जम्मा गर्दा
९. निष्क्रिय खाता सक्रिय गराउँदा
१०. मोबाइल इन्टरनेट बैंकिङको युजरनेम–पासवर्ड हराएकोमा
११. रु. २ लाख भन्दा कम रकमको चेक क्लियरिङ गर्दा
१२. एबीबीएस सेवा प्रदान गरेवापत
नेपाल राष्ट्र बैंकले वित्तीय सेवाको पारदर्शिताको लागि सेवा शुल्क सम्बन्धी विवरण सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने प्रावधान रहेकोले यस्ता जानकारी ती बैंक तथा वित्तीय संस्थाले आफ्ना वेबसाइटमार्फत् सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।
यदि त्यस्ता शीर्षकमा तपाईंले कारोबार गरिरहेको बैंकले सेवा शुल्क लिएमा सम्बन्धित बैंक वा वित्तीय संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष ग्राहकले सुनुवाइका लागि जान सक्ने प्रावधान रहेको छ । सम्बन्धित बैंक तथा वित्तीय संस्थाले चित्तबुझ्दो कारण नदिएमा नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ शाखामा समेत सम्पर्क गर्न सकिन्छ ।

नेपालपत्र संवाददाता