मुलुकमा खुलेका सहकारी संस्थाले बचत तथा ऋणको मात्र कारोवार गरेका छैनन् । कतिपय सहकारी संस्थाले बचत तथा ऋणको कारोवारसंगै सदस्यहरुको आयस्तर वृद्धिका लागि सिप विकास समेत गर्दै आएका छन् ।
सदस्य र समुदायको उन्नतिका लागि स्थापना भएका थुप्रै सहकारी संस्थाले सदस्यको जीवनस्तरमा सुधार ल्याउनका लागि सिप समेत विकास गर्दै आएका छन् । स्थानियस्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी व्यवसायी र उद्यमी बनाउन ती संस्थाहरुले सिपसँगै पुँजीको समेत व्यवस्था गरिदिएका छन् । सदस्यहरुलाई विभिन्न सिपमुलक तालिम जस्तै अचार बनाउने, डल तथा कुशन बनाउने , सावुन बनाउने , विभिन्न प्रकारका तितौरा बनाउने, मखमलको जुत्ता बनाउने लगायतका तालिम प्रदान गरी सदस्यहरुको आयस्तरमा वृद्धि गर्ने काम सहकारीहरुले गरेका छन् । त्यसका साथै सिलाई बुनाई, ब्युटिपालर र अन्य विभिन्न पेशा तथा व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने तालिम तथा सिप विकास गरी सदस्यहरुलाई सघाउँदै आएका छन् ।
विशेषत चुलो चौकोमा नै सिमित रहेका महिला सदस्यहरुलाई समेटेर सहकारीले उद्यमशिलतामा जोड्ने काम गरेका छन् । उनीहरुलाई सहकारीमा आवद्ध गराएर बचत गर्ने वानीको विकास गर्नुका साथै सिप सिकाई आम्दानी गर्न सक्ने बनाएका छन् । कतिपय सहकारी संस्थाले सदस्यले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण गर्न समेत सहयोग गरेका छन् । कतिपय सहकारीले कोसेली घर नै सञ्चालनमा ल्याएर सदस्यले उत्पादन गरेका वस्तुहरु विक्रिवितरण गरी राम्रो आम्दानीको स्रोत बनाई दिएका छन् । शहरमा खुलेका केही सहकारी संस्थाले सदस्यको बचत हिनामिना गरेको भए पनि अधिकांश सहकारी संस्थाले सदस्यहरुको जीवनस्तरमा परिवर्तन ल्याउन महत्वपूर्ण भुमिका खेल्दै आएको सहकारीकर्मीहरु बताउछन् ।

गैडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले आफ्ना १०५० जना सदस्यहरुलाई सिपयुक्त तथा व्यवसायिक तालिम प्रदान गरेको छ। सदस्यहरुलाई व्यवसायिक बनाउने रणनीतिका साथ संस्थाले तालिम प्रदमान गर्दै आएको छ । ‘किसानको शान सदस्यलाई सिप युक्त दक्ष जनशक्ती बनाई उत्पादनमा जोड दिने अभियान’का साथ संस्थाले विस्तारित मञ्चमा सदस्यहरुको माग भए बमोजिमका तालिमहरु प्रदान गर्दै आएको छ । संस्थाले कौशी खेती तालिम, उद्घोषण तालिम मौसमी तारकारी खेती फिनेल बनाउने तालिम, डल तथा कुशन बनाउने तालिम , अर्गानिक मल तथा मौसमी तरकारी खेती तालिम , पशुस्वास्थ्य तथा हेरचाह कार्यक्रम , अर्गानिक मल बनाउने जस्त तालिम दिएर सदस्यहरुलाई उधमशिल बनाउनुका साथै आर्य आर्जनमा सघाउँदै आएको छ ।

काभ्रेको पनौतीमा ५ चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा उद्यमशिलता विकास गर्न विभिन्न तालिमको आयोजना गर्दै आएको छ ।संस्थाले सदस्यहरुको चाहना अनुसार मखमलको चप्पल बनाउने, कौंशी खेती र आधुनिक कृषि खेती जस्ता थुप्रै तालिम दिएको जनाएको छ । संस्थाले हालै मात्र बनेपा समुहमा कौसी खेतीको १ दिवसीय कार्यक्रम सञ्भालन गरेको छ । कृषि उप समिती सम्योजक उजेली मिजारको सयोजक्त्वमा २२ जना सदस्यहरुलाइ आधारभुत कौसी खेती तालिम प्रदान गरिएको थियो। विषयुक्त तरकारी सेवनले स्वास्थ्यमा असर पारिरेहेको अवस्थामा सदस्यहरुमा कौंंशी खेतीको विकास गरी स्वस्थकर तरकारी सेवन गर्न उत्प्रेरित गर्ने संस्थाको उदेश्य रहेको छ ।
त्यसैगरी भक्तपुरमा रहेको संचित बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई अंचार बनाउने तालिम दिएको छ । संस्थाको महिला उपसमितिको आयोजनामा भएको तालिममा ३५ जना सदस्यलाई अंचार बनाउने तालिम दिएको हो । संस्थाले यस अघि पनि सदस्यहरुमा उद्यमशिलता विकास गर्न विभिन्न तालिम आयोजना गरी आय आर्जनमा सहयोग गर्दै आएको छ । त्यसैगरीविन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा उद्यमशिलता विकास गरी आयआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिम दिदै आएको छ । संस्थामा आवद्ध सदस्यहरुमा सिप विकास गरी उनीहरुको जिवनस्तरमा सहयोग गर्न संस्थाले विभिन्न तालिमको आयोजना गर्दै आएको छ ।

संस्थामा आवद्व सदस्यहरुको आयस्तर तथा क्षमता अभिवृद्वि गर्ने उदेश्यका साथ २ दिने उद्यमशिलता तथा सीप बिकास तालिम अन्तरगत आलुको चिप्स बनाउने तालिम दिएको छ । संस्थाले यस अघि पनि सदस्यहरुमा क्षमता अभिवृद्धि तथा आयस्तरमा टेपा पुर्याउने उदेश्यका साथ अचार बनाउने तालिम प्रदान गरेको थियो । समाजमा रहेका सहकारी संस्थाले केही न केही तालिमको आयोजना गरी सदस्यलाइ सिप विकास गरी आय आर्जनमा टेवा पुर्याएका छन् ।