शनिबार, आश्विन १७ गते २०८३

पुँजी विदेश पलायन भइरहेको भन्दै गभर्नरले गराए सचेत, ओभर इन्भ्वाइसिङ भएको आशंका

जेठ २५, २०८० बिहीबार
पुँजी विदेश पलायन भइरहेको भन्दै गभर्नरले गराए सचेत, ओभर इन्भ्वाइसिङ भएको आशंका

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर एकल अंकमा ल्याउँदा पुँजी पलायन हुने जोखिमतर्फ सचेत हुनुपर्ने बताएका छन् ।

वित्तीय संस्थाका अध्यक्षहरुसँग मौद्रिक नीति र समसामयिक विषयमा भएको छलफलमा गभर्नर अधिकारीले एकल अंकको ब्याजदर भनेर मात्रै नहुने र त्यसले ल्याउन सक्ने जोखिमबारे पनि ध्यान दिनुपर्ने बताए । 

अधिकारीले बैंकिङ प्रणालीबाटै पुँजी पलायन हुने क्रम बढेको भन्दै गंभीर चासो व्यक्त गरेका हुन् । विदेशबाट वस्तु तथा सेवाको आयात गर्दा लागतभन्दा बढी मूल्य (ओभर इन्भ्वाइसिङ) देखाएर नेपालबाट पुँजी पलायन हुने क्रम बढ्न थालेको अधिकारीले बताए ।  राष्ट्र बैंकलाई त्यस्तो सूचना प्राप्त भएको भन्दै गभर्नर अधिकारीले ओभर इन्भ्वाइसिङ गरी पुँजी पलायन गर्न मद्दत गर्ने बैंकलाई कारबाही गर्ने चेतावनी दिए ।

बैंक तथा वित्त कम्पनीका अध्यक्षहरुसँगको अन्तर्क्रियामा गभर्नरले भने,  ‘भन्सार शुल्क कम भएका वस्तुमा ओभर इन्भ्वाइसिङ गरेर बैंकिङ प्रणालीबाटै पुँजी पलायन भइरहेको छ भन्ने सूचना हामीलाई प्राप्त भएको छ, त्यसलाई गंभीररुपमा हेर्नुहोस् र रोक्नुहोस्, तपाईंहरुले रोक्नु भएन भने हामी कारबाही गर्न बाध्य हुनेछौं ।’

बैंकिङ प्रणालीबाटै पुँजी पलायन बढ्न थाल्नु खतराको संकेत भएको बताउँदै सचेत रहन गभर्नरले सुझाए । विदेशबाट सामान आयात गर्दा प्रतितपत्र (एलसी) खोल्ने क्रममा सामानको मूल्यभन्दा बढी मूल्य राखेर एलसी खोलिएको भेटिएपछि राष्ट्र बैंक कडाइ गर्ने अवस्थामा पुगेको सन्देश गभर्नर अधिकारीले अध्यक्षहरुलाई बोलाएर दिएका हुन् ।

पहिलो चरणमा राष्ट्रबैंकले सचेत गराउन छलफल गराएको र उक्त क्रम नरोकिएन बैंक र व्यवसायी दुबैलाई कानुनी दायरामा ल्याउने तर्फ राष्ट्रबैंकको तयारी रहेको जनाइएको छ ।