बुधबार, कार्तिक १२ गते २०८३

‘सदस्यको एक रुपैँया पनि डुब्दैन, सहकारीलाई काम गर्ने बातावरण  दिनुस्’–रजिष्ट्रार घिमिरे

जेठ २५, २०८० बिहीबार
‘सदस्यको एक रुपैँया पनि डुब्दैन, सहकारीलाई काम गर्ने बातावरण  दिनुस्’–रजिष्ट्रार घिमिरे


सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सहकारीमा राखेको बचत डुब्न नदिने बताएका छन् । कतिपय बचतकर्ता आफुहरुले सहकारीमा राखेको बचत फिर्ता नपाएको भन्दै सडक आन्दोलनमा पुगेका बेला उनले भने सो कुरा बताएका हुन् । सहकारी पत्रकार समाजले अयोजना गरेको ‘सहकारीको विद्यमान समस्या, चुनौती  र समाधानको उपाय’ विषयक  अन्तरक्रिया कार्यक्रम बोल्दै उनले  अहिले वित्तीय प्रणालीमा नै समस्या आएकाले सबै सहकारीले तत्काल बचत फिर्ता गर्न सक्ने अवस्था नरहेको प्रष्ट पारे ।

सदस्यले सहकारीमा राखेको बचत पिर्ता पाउने भन्दै उनले सदस्यहरुलाई नआत्तिन आग्रह गरे । सदस्यले ढिलो चाँडो बचत फिर्ता पाउने उनको भनाई छ । सहकारीमा बचतकर्ताले जम्मा गरेका एक रुपैँया पनि हिनामिना हुन नदिने उनको दावी छ । उनले भने,‘तपाईहरुको बचत डुब्दैन,सहकारीहरुलाई काम गर्ने वातावरण दिनुस्। ’ सदस्यको बचत डुबाएर लन्डन होस या अन्टार्कटिकमा पुगे पनि सरकारले चाह्यो भनेर खोजेर ल्याउने उनले जनाए । केही सहकारी संस्थाले गरेको वदमासीका कारण समग्र सहकारी क्षेत्र नै खतम र विश्वास गर्न लायक छैन भन्ने सन्देश गएको घिमिरेको भनाई छ । ‘अहिले सबै सदस्य पैसा आवश्यक परेर बचत फिर्ताको लागि गएका  होइनन्, उनले भने, ‘पैसा सुरक्षित नहुने भयो भन्ने डरले सहकारीमा बचत फिर्ताको लागि लाम लागेका हुन् ।’

‘कतिपय सदस्य विभागमा आएर मैले सहकारीमा गरेको बचत सुरक्षित छ त भनेर प्रश्न गर्ने गरेका छन् । मैले सुरक्षित छ भन्दिएपछि आनन्द भयो भन्दै गए।’ सबै सहकारीमा  समस्यामा नरहेको भन्दै  उनले मुल्य मान्यता र सिद्धान्तमा सञ्चालित सहकारीमा ढुक्क भएर कारोबार गर्न आग्रह गरे । रजिष्ट्रार घिमिरेले अहिले असहज परिस्थितिका कारण समस्यामा परेका संस्थाबाट समेत सदस्यको बचत जसरी पनि फिर्ता आउने दावी गरे ।

पैसा नभएर समस्यामा परेका सहकारी कति र घर जग्गा नबिकेर समस्यामा परेका संस्था कति छन्, त्यसको  यकिन तथ्याङ्क ल्याउन उनको आग्रह छ । ‘संस्थाहरुले प्राथमिकिकरण गरे विरामी, एकल महिला, जेष्ठ नागरिक र स–सानो बचत भएकालाई पहिला फिर्ता दिन र बाँकी सदस्यको हकमा क्रमश दिँदै जाने भनेर आफ्ना सदस्यलाई भन्नसु न !’ उनले भने, ‘तत्कालको समस्या समाधान गर्न राम्रालाई समय दिने,नराम्रालाई कारवाही गर्ने र बीचका सहकारीलाई अहिले टिकाएर राम्रो भए पछि नियमन अनुगमन गरेर कारवाही गर्दै जान्छौ । पहिला सदस्यको बचत फिर्ता गराइसकेपछि  सहकारी ऐन नियम भन्दा बाहिर गएर लगानी गर्ने संस्थाहरुलाई कारवाही गर्ने उनले जनाए ।