शनिबार, आश्विन १७ गते २०८३

बुडोल सामुदायिकका सीइओ ठकुरीको अध्यक्षतामा ‘कोअपरेटिभ म्यानेजर्स क्लब’ दर्ता 

भाद्र ४, २०७८ शुक्रबार
बुडोल सामुदायिकका सीइओ ठकुरीको अध्यक्षतामा ‘कोअपरेटिभ म्यानेजर्स क्लब’ दर्ता 

 

काभ्रेपलाञ्चोक जिल्लामा रहेका सहकारी संस्थाका व्यवस्थापकहरुको अगुवाईमा ‘कोअपरेटिभ म्यानेजर्स क्लब’ गठन भएको छ । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेक राज ठकुरीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो । 

क्लबको उपाध्यक्षमा ज्योति मिर्मिरे सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल, सचिवमा आर्थिक विकास मित्र साकोसका प्रबन्धक ठाकुरनाथ अधिकारी, कोषाध्यक्षमा आयाम साकोसकी प्रमुख कार्यकारी अधिकृत सविना पन्त रहेका छन् । 

त्यसैगरी सदस्यहरुमा आभाष साकोसका प्रमुख प्रबन्धक सुवास बैद्य, महिला आधारशीला साकोसका व्यवस्थापक यशोदा बोगटी, एक्सप्रेस साकोसका सीइओ अरुण थापा, लक्ष्मी महिला साकोसका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी र पञ्चकुमारी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक गंगा दाहाल रहेका छन् ।  

आगामी ६ महिनाभित्र प्रारम्भिक साधारण सभा गर्ने गरी संस्था दर्ताको लागि तदर्थ समिति गठन भएको हो । सहकारीको संस्थागत विकास, सुशासन र व्यवसायिकरणका लागि संगठीत संस्थाको परिकल्पनासहित भदौ २ गते जिल्ला प्रशासन कार्यालयमा क्लब दर्ता भएको तदर्थ समितिका अध्यक्ष विवेक राज ठकुरीले जानकारी दिए।

सहकारी संस्थाहरुको लागि आवश्यक नीति, विधि र प्रविधिको विकास गर्ने क्लबको उद्देश्य रहेको छ ।  नयाँनयाँ सोचहरुको विकास र आधुनिकिकरण गर्न अनुसन्धान तथा विकासका कार्यहरु गर्ने, सहकारी अभियानका विषयहरुमा बहस, पैरवी गर्ने कार्यका लागि विषयविज्ञको रुपमा सहकारी अभियानका नेतृत्वहरुलाई सघाउ पु¥याउने, विभिन्न कार्यशाला, तालिम, गोष्ठी तथा छलफल कार्यक्रमहरु सञ्चालन गर्ने क्लबले उद्देश्य राखेको छ । त्यसैगरी सहकारी संस्थामा एकरुपता कायम गर्ने, सहकारीका ब्यवस्थापक एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य गर्ने लगायतको उद्देश्य क्लबले राखेको छ ।

राष्ट्रिय सहकारी महासंघ, प्रदेश सहकारी संघ, जिल्ला सहकारी संघ र विषयगत केन्द्रीय सहकारी संघ, प्रदेश विषयगत सहकारी संघ, जिल्ला विषयगत सहकारी संघ र राष्ट्रिय सहकारी बैंक तथा स्थानीय तह अन्तरगतका सहकारी संघहरुसँग समन्वय र सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, सहकारी संस्था सञ्चालनका लागि आवश्यक नीति, निर्देशिका तथा कार्यविधिहरुको नमूना तयार गर्ने, सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको रोजगारी सुनिश्चितताको लागि पहल कदमी गर्ने जस्ता विषयवस्तु क्लबले समेटेको छ । 

विगतमा अनौपचारिक रुपमा विभिन्न संस्थामा कार्यरत व्यवस्थापन प्रमुखहरुले अनौपचारिक रुपमा असल अभ्यासहरुको आदानप्रदान गर्ने कार्य गर्दै आएका थिए । जिल्लामा स्थापित विभिन्न संघहरुलाई एकै सुत्रमा जोड्नका लागि औपचारिकताको आवश्यकता र सबै प्रकृतिका सहकारीहरुबीच ऐक्यवद्धताको खाँचो रहेको कुरालाई मनन् क्लब दर्ता गरिएको जनाइएको छ । 

managers club.jpg