शनिबार, आश्विन १७ गते २०८३

राष्ट्र बैंकले मुद्दती निक्षेपमा डेढ अर्ब रुपियाँ लगानी गर्दै


जेठ २४, २०८० बुधबार
राष्ट्र बैंकले मुद्दती निक्षेपमा डेढ अर्ब रुपियाँ लगानी गर्दै

 

नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा करिब डेढ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम ‘क’, ‘ख’ वर्गका बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे हाे । 

राष्ट्र बैङ्कले वाणिज्य बैंकमा एक अर्ब १७ करोड ६० लाख रुपियाँ, विकास बैंकहरूमा २२ करोड पाँच लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा सात करोड ३५ लाख रुपियाँ गरी कुल एक अर्ब ४७ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।

उक्त निक्षेप राष्ट्र बैंकले २०८० असार १ देखि २०८१ असार २ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले जेठ २५ गते बिहीबारसम्ममा ब्याजदर प्रस्ताव पेस गरिसक्नुपर्नेछ ।

राष्ट्र बैंकको निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने छ ।

त्यसै गरी निक्षेप लिनका लागि निष्क्रिय  कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने छ । त्यसैगरी कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने लगायत शर्त रहेका छन् ।