काभ्रेपलाञ्चोक बचत तथा ऋण सहकारी संघले सरकारले हालै ल्याएको आ.व. २०८०÷८१ को बजेट मार्फत सहकारीमा लाग्ने आयकर दोब्बरले वृद्धि गरेकोप्रति आपत्ति जनाएको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरुको ऐनमा भएको व्यवस्था भन्दा दोब्बरले आयकर वृद्धि गरेकाले सहकारी संघ संस्थाहरुलाई थप समस्या बनाएको जनाएको छ ।
संघका अध्यक्ष उदयराम कायस्थले सहकारी ऐन २०७४ को दफा १४१ मा भएको सहकारी संघ संस्थाहरुको कर सम्बन्धी व्यवस्थासँग बाझिने गरी सरकारले आयकर निर्धारण गरेको उल्लेख गरेका छन् । त्यसैगरी सहकारी संस्थाहरुले बचतमा प्रदान गर्ने ब्याजकरमा ५ प्रतिशतबाट १ प्रतिशतले वृद्धि गरी ६ प्रतिशत कायम गरेकोप्रति पनि विज्ञप्ति मार्फत संघले सरकारको ध्यानकर्षण गराएको छ । त्यसैगरी सहकारी संस्थामा सदस्यता लिन अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्थाले सहकारीमा सदस्यहरुको सहभागिता न्युन हुने हुँदा त्यस तर्फ समेत संघले सरकारको ध्यानकर्षण गराएको छ । सहकारी अभियानलाई नै कम्जोर बनाउने गरी निर्धारण गरिएको आयकर, ब्याजकर र अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था तत्काल खारेज गर्न संघले माग गरेको छ ।
सहकारीप्रति अविश्वास पैदा गराई अभियानलाई नै कम्जोर बनाउने गरी गरिएको कार्यप्रति सहजग रहन संघले सदस्य संस्थालाई आग्रह गरेको छ । यस विषम परिस्थितीमा आपसी अविश्वासको कारण सहकारीमा समस्या आएको हुँदा त्यसको समाधान गर्न संस्थाहरुले सदस्यहरुसँग प्रत्यक्ष भेटघाट गरी सदस्यका गुनासोहरुमा परामर्श सहित छलफल गर्न समेत संघले संस्थाहरुलाई भनेको छ । सदस्यहरुलाई भेला गरी वित्तीय साक्षरता कार्यक्रममा जोडी संस्थाको समग्र अवस्थाको वारेमा जानकारी दिन समेत संघले आग्रह गरेको छ । बचत संकलन गर्दा बचत अनुपात विश्लेषण गरी बचत व्यवस्थापन गर्न, बचत संकलन र ऋण लगानीमा सन्दर्भ ब्याजदर कायम गर्न तथा सदस्यमा म पनि संस्थाको मालिक हुँ, संस्था जोगाउनु मेरो पनि जिम्मेवारी रहन्छ भन्ने भावनाको विकास गर्न संघले विज्ञप्तिमा भनेको छ । त्यसैगरी मासिक बचतलाई अनिवार्य गर्न, संस्थालाई समुदाय र सदस्य केन्द्रीत गर्न, सहकारी मुल्य मान्यता र सिद्धान्त एंव सहकारी ऐन तथा नियमावलीको पूर्ण पालना गरी संस्था सञ्चालन गर्न संघले अपिल गरेको छ ।