बुधबार, कार्तिक १२ गते २०८३

सहकारीमा करको दर बढाएकोप्रति महासंघको आपत्ति, फिर्ता नलिए आन्दोलन गर्ने

जेठ १६, २०८० मंगलबार
सहकारीमा करको दर बढाएकोप्रति महासंघको आपत्ति, फिर्ता नलिए आन्दोलन गर्ने


राष्ट्रिय सहकारी महासंघले बजेटमार्फत करको दर बढाएकोमा विरोध जनाएकाे छ । संघले आज एक विज्ञप्ति जारी गर्दै सहकारी ऐन २०७४ मा भएको करको दर नै लागू गर्न सरकारसँग माग गरेको छ । ऐनमा व्यवस्था भए अनुसारको करको दर लागू नभए महासंघले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।  

महासंघले सहकारी ऐन २०७४ को दफा १४१ मा व्यवस्था भए अनुरुप सरकार र सहकारी अभियानका बिच विभिन्न चरणमा भएका उच्चस्तरीय अध्ययन, वार्ता तथा छलफल पश्चात नेपाल सरकारद्वारा आ.व. ०७६।०७७ देखि नै नगरपालिकामा संचालित सहकारीका लागि ५ , उपमहानगरपालिकाका लागि ७ र महानगरपालिकाका लागि १० प्रतिशतका दरले आयकर लाग्ने व्यवस्था भएको भएपनि अहिले करको दर बृद्धि गर्नु न्यायोचित नभएको जनाएको छ ।

आर्थिक विधेयकमार्फत सहकारी ऐन २०७४ मा नै व्यवस्था भएको विषयलाई समेत परिर्वतन गरेर विवादास्पद दर कायम गर्न खोज्नु न्यून र मध्यम आय भएका नागरिकलाई मारमा पार्ने प्रस्ताव  भएको महासंघले विज्ञप्तिमा भनेको छ । 

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि राज्यको एक महत्वपूर्ण आधारशिलाका रुपमा रहेको सहकारी संघ र संस्थाका लागि आयकर दर बृद्धि गर्नु न्यायोचित नभएकोले नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा पूर्ववत् रुपमा लिर्दै आएको क्रमश पाँच, सात र दश प्रतिशत आयकरलाई नै यथावत राख्न नेपाल सरकार, संघीय संसद एवं सम्बद्ध पक्षमा    महासंघले माग गरेको छ । साथै करको दर नसच्याए सहकारी अभियान थप संघर्षका कदम चाल्न बाध्य हुने बताएको छ ।

पुँजी निर्माण, उद्यमशीलता विकास, स्वरोजगार सृजना, लैंगिक समानता, गरिबी न्युनिकरण जस्ता क्षेत्रमा सहकारीले महत्वपुर्ण योगदान खेल्दै आएको महासंघले जनाएको छ। सहकारी संस्थामा मुलुकभरका ७३ लाख मानिस आवद्ध भएको र उनीहरुको जीवनस्तर परिवर्तनमा सहकारीको योगदान ठुलो रहेको विज्ञप्तिमा जनाइएकाे छ । 

अर्थमन्त्री डा. प्रकाश शरण महतले हिजाे आर्थिक वर्ष २०८०।०८१ को बजेट प्रस्तुत गर्दै सहकारीमा लाग्दै आएको करको दरलाई वृद्धि गरेका हुन् ।