आइतबार, कार्तिक ९ गते २०८३

समस्यामा परेका सहकारीले बचत फिर्ताको समय तोक्न पाउने, सञ्चालकहरूले कानुनी दायित्व भने लिनुपर्ने

जेठ १२, २०८० शुक्रबार
समस्यामा परेका सहकारीले बचत फिर्ताको समय तोक्न पाउने, सञ्चालकहरूले कानुनी दायित्व भने लिनुपर्ने

 

सदस्यहरूको बचत समयमै फिर्ता गर्न नसकेका सहकारी संस्थालाइ कुलिङ पिरियड दिइने भएको छ । सदस्यहरूको बचत समयमै फिर्ता गर्न नसकेका संस्थाले सदस्यहरूलाइ विश्वासमा लिइ बचत फिर्ताको समय तोक्न पाउने भएका हुन् । 

संघीय सहकारी विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै सहकारीका सञ्चालकले सदस्यलाई विश्वास दिलाएर बचत फिर्ताको समय तोक्न पाउने बताएको हो । विभागका रजिष्ट्रार नमराज घिमिरेले त्यस्ता सहकारी संस्थाले सदस्यलाई विश्वास दिलाउन अनिवार्य रूपमा श्वेतपत्र जारी गर्नुपर्ने बताए ।

सहकारी संस्थाले यो सुविधाको उपभोग गर्न दायित्वको कानुनी ग्रहण पनि अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । कानुनी रुपमा दायित्व ग्रहण गरेपछि सञ्चालक भाग्ने सम्भावना नहुने हुँदा सहमतिमा बचत फिर्ताको समय तोक्न सक्ने रजिस्ट्रार घिमिरेले बताए । ‘बचतकर्ता र सञ्चालकको आपसी समझदारीले मात्रै समय पाइन्छ, सञ्चालकले बचतकर्ताको बचतको ग्यारेन्टी दिनुपर्छझ, उनले भने । यस्तै, उनले अहिले सहकारी बारे आइरहेको विषयवस्तुप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको र यसको लागि कार्यदल बनेको जानकारी दिए ।

यस्तै, सहकारीका सञ्चालकहरुले घरजग्गा लगायत व्यवसायमा लगानी गरेको र घरजग्गामा दबाब आउँदा यो अवस्था आएको उनले बताए । सञ्चालकले  बदनियतले कारोबार गर्दा र आफ्नो वा आफन्तको नाममा कम्पनी दर्ता गरी सहकारीको बचत लगानी गर्दा अधिकांश समस्या देखिएको उनले जनाए । 

समस्यामा आएका सहकारीलाई बचत फिर्ताका लागि समय दिने, घरजग्गामा लगानी गरेकालाई स्वतन्त्र छोड्नुको सट्टा सञ्चालकहरुले संस्थाको दायित्व ग्रहण गर्नु पर्ने र बदनियत भएका सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याएर बचत फिर्ता गराउने उनले बताए ।