आइतबार, कार्तिक ९ गते २०८३

आन्दोलनले सहकारीकाे समस्या समाधान हुँदैन, अभियानले मस्यौदा ड्राफ्ट गरेर ल्याओस्ः डा. रेग्मी

जेठ ११, २०८० बिहीबार
आन्दोलनले सहकारीकाे समस्या समाधान हुँदैन, अभियानले मस्यौदा ड्राफ्ट गरेर ल्याओस्ः डा. रेग्मी


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सडक आन्दोलन गरेर सहकारी क्षेत्रका समस्या समाधन नहुने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले उठाएका उठाएका १३ बुँदे माग जायज भएपनि त्यसको उठान गर्न ढिलो भएको उनको भनाई छ । ‘माग मात्रै राख्ने तर डकुमेन्ट ल्याउन कोही तयार नहुने’, उनले भने ‘ऐनकानुनमा के के राख्ने भनेर लिखित रुपमा लेखेर ल्याउनुपर्‍यो नि ! कर्जा सूचना केन्द्रको कार्यविधि के हो ? त्यसको ड्राफ्ट गर्नुपर्‍यो । तर महासंघले अहिलेसम्म ड्राफ्ट नै ल्याएको छैन ।’

‘सहकारीको समस्याप्रति सरकार गम्भीर छ । अभियानले उठाएको विषयमा मेरो पनि विमति छैन । इस्यु ठिक छन् । त्यसको समाधानको उपाय खोज्नुपर्छ । महासंघले त्यसको ड्राफ्ट हामीलाई दिनुपर्‍यो नि । हामीले नजानेर नबनेको हो नि ?’ उनले भने । एक्सनमा जाने गरी महासंघले चासो नदिएको उनको भनाई छ । कर्जा सूचना केन्द्र र बचत सुरक्षण कोष केहो भनेर ड्राफ्ट ल्याएर दिए हामीलाई पनि सजिलो हुन्छ । सरकारको सबै गर्न सक्ने क्षमता कहाँ छ र ? उनले प्रश्न गरे । ‘अहिले आन्दोलन गरेर बस्नुभन्दा अभियानका लागि आवश्यक नीतिनियमकाे मस्यौदा ड्राफ्ट गरेर ल्याए हुने नि ! उहाँहरुले कसको विरुद्ध जुलुस गर्ने ?’ 

सहकारी अभियानको नेतृत्व नै समस्याप्रति जिम्मेवार नभएको उनको तर्क छ । सचिव रेग्मीले भने ‘उहाँहरु बाहिर भाषण गर्न मज्जा मान्नुहुन्छ । तर मन्त्रालयसँग बसेर छलफल गरौं भन्दा विभिन्न बहाना बनाएर हिँड्नुहुन्छ । मलाई हतार छ, म त हिँडे हैं भन्दै पञ्छिनुहुन्छ ।’ कर्जा सूचना केन्द्रको ड्राफ्ट अर्थ मन्त्रालय पुगेको छ तर मन्त्रालयले  सहमति दिएको छैन । ‘अभियानका तर्फबाट आएका कुनै पनि फाइल सहकारी मन्त्रालयमा अड्किएको छैन,’ उनले भने, ‘भए उहाँहरुले हामीलाई भन्न मिल्छ । महासंघ पनि सहकारी अभियानको मेजर स्टेकहोल्डर र सरकारको परिपूरक भएकाले बढी जिम्मेवार हुनुपर्‍यो । 

‘मन्त्रालयले भूमि र गरिबी निवारणको पनि काम गर्नुपर्छ । तसर्थ सहकारीको समस्या समाधानमा संघ, महासंघको भूमिका प्रभावकारी हुनुपर्छ । मैले सहकारीको एउटा फाइल एक घण्टा पनि राख्दिन, ५/१० मिनेटभित्र फाइल फरवार्ड गरिदिन्छु । यस्तो सचिव पाउँदा त महासंघले फाइल त पेश गर्नुपर्‍यो नि’, उनले फरक प्रसंगमा भने ‘मेस्सीले कहिले पनि गोलको पछि जाँदैन, मेस्सीलाई बल दिने हो र गोल हान्ने काम उसको हो ।’

रजिष्ट्रारले कर्जा सूचना केन्द्र बस्न मिल्दैन? भन्ने जिज्ञासा सचिव रेग्मीले भने ‘जसलाई मिल्छ उसलाई राखौं । उहाँ मात्रै एक्लो व्यक्ति हो यो देशमा ? कानुनी अड्चन जे जति छन् । त्यसलाई हटाउँ ।’

समस्याको सम्पूर्ण जड उहाँहरु मात्रै पनि होइन । उहाँहरुलाई सबै दोष दिएर सरकार पन्छिन भने नमिल्ने उनको भनाई छ । संघीयतामा गएपछि २०/२२ हजार सहकारी स्थानीय तहमा गयो । पाँच/छ हजार संस्था प्रदेशमा र नगन्य मात्रामा संघको मातहतमा छ । तर त्यो अनुसारको जनशक्ति, संरचना र क्षमता बढाउन नसकेको उनले स्वीकारे । प्रदेश र स्थानीय तहमा सहकारी गएपछि विभाग नियमनकारीकाे रूपमा बस्नुपथ्र्यो । नियामकको भूमिकामा विभाग जानुपर्नेमा उ पनि त्यहि पुरानै काममा अल्झिरहेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति छ, उ वर्कसपहरुमा जान रमाउने होइन । सहकारीलाई झ्याप्प–झ्याप्प समाउने र कारवाही प्रक्रिया अगाडि बढाउने हो । त्यो भएको पाईंदैन । व्यवस्थापन समितिसँग सहकारीकर्मी थरर हुनुपर्नेमा त्यो भएको पाईंदैन । सहकारीकर्मी आफैं सक्षम रहँदा सरकारको नियन्त्रणलाई स्वीकार्नु हुँदैनथ्यो । स्वनियमनमा रहने संस्था भन्नुहुन्थ्यो । जुनबेला अप्ठयारो पर्‍यो, परिस्थिति आफ्नो कब्जाभन्दा बाहिर गयो त्यो बेला मात्रै सरकारको  उपस्थिति खोज्नुभएको छ । सञ्चालकलाई असीमित अधिकार दियो । सदस्य पनि दुईचार प्रतिशत बढी ब्याजको लोभमा फसे । वाणिज्य बैंकले १८/१९ प्रतिशत ब्याज दिन नसक्ने सहकारीले दिने सक्ने, यो कसरी सम्भव भयो भनेर सदस्यले सोच्नुपर्दैन ।

अब एकपटक हामी सबै सुध्रिनुपर्छ । अहिले हामीले राम्रा कुन ? नराम्रा कुन भनेर सहकारी छुट्याउन सकेका छैनौं । राम्रोलाई पनि राम्रो भनेर भन्न हिम्मत गरेका छैनौं, नराम्रोलाई पनि नराम्रो भन्न सकिराखेका छैनौं । सहकारीको आन्दोलनमा जोडिएकाले पनि बदमासी गरेका हुन सक्छन् । समग्र शासन प्रणाली समस्या रहेको छ । त्यसको प्रभाव सहकारीमा पनि परेको हो । कसैले उसको आवाज नसुन्ने व्यक्ति नै सहकारीबाट समस्यामा परिरहेको छ ।