शनिबार, आश्विन १७ गते २०८३

वाणिज्य बैंकद्वारा राष्ट्रिय क्रिकेट टिमका हरेक खेलाडीलाई १ लाख प्रदान

जेठ ९, २०८० मंगलबार
वाणिज्य बैंकद्वारा राष्ट्रिय क्रिकेट टिमका हरेक खेलाडीलाई १ लाख प्रदान

 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको सम्मान गरेको छ । टोलीलाई प्राप्त सफलताको लागि बधाई दिँदै थप उत्प्रेरणा प्रदान गर्नका बैंकले क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई  एक समारोहकाबीच सम्मान गरेको हो । 

हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैंया र ८ जना टिम अफिसिलयलहरुलाई जनही ५० हजार रुपैंया नगद बैंकले प्रदान गरेको छ । 

नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको तथा अन्तर्रािष्ट्रय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि डा. बलराम पाठकले खेलाडी तथा टीम अफिसिलयहरुलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न सकिने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तरराष्ट्रिय रुपमा क्रिकेटले राष्ट्रको नाम उच्च बनाएको यो क्षण गौरबपूर्ण भएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरेको जनाए । 

क्रिकेट एशोसिएसन अफ नेपाल(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्रािष्ट्रय रुपमा नेपालको नाम क्रिकेटले चिनाएको बताए । टिमका कप्तान रोहित पौडेलले देशको लागि खेल्ने मेरो सपना त वास्तवमा सबै नेपालीको सपना रहेछ भन्दै सो पूरा गर्न पाएकोमा खुशी लागेको उल्लेख गरे ।