भक्तपुरमा एक दिवसीय ‘असल बैठक तथा निर्णय लेखन’ विषयक तालिम सम्पन्न भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को महिला सशक्तीकरण उपसमितिको आयोजनामा तालिम भएको हो ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा आफ्नै विनियम नै पालना नगरी अध्यक्ष नै सर्वेसर्वा भई कार्य गर्ने सहकारीहरुमा संकट आइरहेको उल्लेख गरे । उनले सहकारीमा असल बैठकको अभ्यास नै नगरीकन व्यक्ति स्वार्थ परिपूर्ति गर्ने गरी खोलिएका सहकारीमा संकट चुलिएको बताए । उनले सहकारीलाई कडा अनुगमनमा राख्न नेपाल राष्ट्र बैंक अन्र्तगत लैजानु सहकारीको सिद्धान्त, स्वयत्तता र स्वतन्त्रता हनन हुने बताए ।
संघका संचालक एवं उपसमितिका संयोजक कृष्णश्वरी प्रजापतिले सदस्य संस्थामा प्रभावकारी बैठक तथा निर्णय लेखन कार्यमा टेवा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको जनाइन् । उनले सहकारीमा नियमित बैठक बसी नियमसंगत निर्णयबाट मात्र संस्था प्रभावकारी संचालन गर्न सकिने बताइन् ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको वित्तीय अवस्थाको जानकारी गराउँदै संघमा प्रशस्त तरलता रहेको जानकारी दिइन् । उपसमितिका सदस्य निर्जला ढुङ्गेल संस्थामा नियमित अभ्यास गदै आइरहेको बैठक तथा निर्णय लेखन कार्यलाई प्रभावकारी बनाउन तालिम महत्वपूर्ण रहेको उल्लेख गरिन् ।
तालिममा सहभागी लयप्रसाद भट्टराईले तालिम प्रभावकारी रहेको र सहभागिहरुमा उत्साह थपिएको कुरा बताउनुभयो । उपसमितिका सदस्य सुर्वण प्रभा गुरागाईले तालिम समापन समारोह सञ्चालन गरेका थिए । तालिममा ६० जना सहभागीहरुको सहभागिता रहेको थियो ।