आइतबार, कार्तिक ९ गते २०८३

सहकारी संस्थाकी कर्मचारीमाथि भएको दुर्व्यवहारको संघहरुद्वारा भत्सर्ना

जेठ ५, २०८० शुक्रबार
सहकारी संस्थाकी कर्मचारीमाथि भएको दुर्व्यवहारको संघहरुद्वारा भत्सर्ना

 

काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ मा रहेको राधाकृष्ण बचत तथा  सहकारी संस्थाकी कर्मचारीमाथि भएको दुर्व्यवहारको संघहरुले विरोध गरेका छन् । जिल्ला सहकारी संघ काभ्रे, काभ्रेपलाञ्चोक बचत तथा ऋण सहकारी संघ र कोअपरेटिभ म्यानेजर्स क्लब, काभ्रेले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर उक्त सहकारी संस्थाकी कर्मचारीमाथि भएको दुर्व्यवहारको विरोध गरेका हुन् । 

जिल्ला सहकारी संघ काभ्रेले एक विज्ञप्ति जारी गर्दै महिला कर्मचारी माथि गरिएको दुव्र्यवहार, अराजक र घृणित काम भएको जनाएको छ । सहकारी संस्थाप्रति चौतर्फी घेराबन्दी भइरहेका बेला आफ्नै शेयर सदस्यबाट यस्ता घृणित कार्य गरी सिगों अभियानलाई असर पार्ने अवाञ्छित गतिविधि कहिल्यै स्वीकार्य नहुने संघले जनाएको छ । त्यसैगरी दैनिक रोजीरोटीका लागि सिमित सुविधामा सदस्यहरुकै समृद्धि, विकास र सेवाका लागि अनगिन्ती इच्छा आकांक्षालाई थाँति राख्दै दिनरात नभनी शेयर सदस्यको ढोकामा पुगेर सदस्य सेवामा खटिने कर्मचारीहरुप्रति नै गिद्धे नजर लगाई हातपातमा समेत उत्रिने र अभद्र व्यवहार गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न संघले माग गरेको छ ।   

यस्ता हर्कतबाट जिल्लामा रहेका सहकारी संघसंस्थाहरुमा कार्यरत २ हजार २५६ जना कर्मचारी, ३ लाख ८३ हजार सदस्यहरुको शिर निहुरिने अवस्था सृजना भएको संघको भनाइ छ । सहकारीमा आवद्ध शेयर सदस्य तथा कर्मचारीहरु सामाजिक तथा आर्थिक रुपमा मर्यादित हुनुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै भएको घटना गम्भीर र निन्दनीय भएको संघले जनाएको छ । घटनाको आवश्यक छानबीन गरी अब उप्रान्त यस्ता प्रकृतिका कुनै पनि कार्य गर्न नसक्ने गरी स्थापित कानूनी दायरामा ल्याई दोषीलाई कारवाही गर्न संघले माग गरेको छ । पीडित कर्मचारी  तथा आम सहकारी संस्थाका कर्मचारी विचतिल नहुन र आफ्नो दैनिक  कार्यसम्पादनमा निरन्तरता दिन संघले सबैमा अपिल गरेको छ । 


काभ्रे बचत संघले उक्त संस्थामा कार्र्यरत कर्मचारी घरदैलो सेवाको लागि गएको र सो क्रममा सरिता श्रेष्ठका श्रीमान गणेश श्रेष्ठले आपतिजनक तरिकाले हातपात गरेको उल्लेख गर्दै महिला कर्मचारीमाथि हातपात तथा कुटपिट गरेको घटनाको घोर भत्सर्ना गर्दै सो घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथि कानूनी कारवाही गर्न माग गरेको छ । सहकारी संस्थाहरुले सदस्यको सुविधाको लागि घरदैलो बचत संकलन तथा फिर्ता सुविधा उपलब्ध गराउने क्रममा केहि व्यक्तिले महिला कर्मचारीलाई विभिन्न बहानामा घर तथा पसलको माथि पासबुक रहेको भन्दै बोलाउने, गलत ढंगले शरीर छुने तथा छुन खोज्ने गरेको भन्ने समेत सुनिन आएकाले यस्ता व्यक्तिबाट सुरक्षित रहन अनुरोध गर्दै यस्ता अमानविय घटना सहेर नबसी कानुनी उपचार खोज्न काभ्रे बचत संघले अनुरोध गरेको छ । 

त्यसैगरी कोअपरेटिर्भ मेनेजर्सले पनि विज्ञप्ति जारी गर्दै आरोपितलाई कडा भन्दा कडा कारवाही गर्न सरोकारवाला निकायसँग जोडदार माग गरेको छ । उक्त संस्थाको कर्मचारी माथि भएको यो घटना एक प्रतिनिधि घटना भएको भन्दै क्लवले यस्ता किसिमका घटना बारम्बार हुने गरेको भन्दै सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको मनोभावना र मनोबलमा समेत असर गरेको जनाएको छ । यस्ता घटनाबाट विचलित   नहुन सहकारीका कर्मचारीहरुलाई क्लबले अपिल गरेको छ ।