पाँच करोड मुनिका कर्जामा पुनर्तालिकिकरण सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशन दिएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाइ एकीकृत निर्देशिका जारी गर्दै जनाउँदै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र रु। ५ करोडसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योगव्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी केहि शर्तहरुको अधीनमा कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिने जनाएको हो ।
शर्तहरू यसप्रकार रहेका छन्ः
- यस्तो पुनरतालिकीकरण र वा पुनरसंरचनाका २०८० असार मसान्तभित्र गरिसक्नु पर्नेछ ।
- २०७९ चैत मसान्तमा सक्रिय वर्गमा बर्गीकरण भएको कर्जालाई पुनरतालिकीकरण र वा पुनरसंरचना गर्न सकिनेछ ।
- उपर्युक्त बमोजिम पुनरतालिकीकरण र वा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।
- यसरी पुनर्तालिकीकरण र वा पुनर्संरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा बर्गीकरण गरिएको छ सोही वर्गमा बर्गीकरण गर्नुपर्नेछ ।
त्यसैगरी २०७९ चैत मसान्तमा असल वर्गमा बर्गीकरण भएका अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै हर्जाना तथा शुल्क नलाग्ने गरी २०८० असार मसान्त भित्र ३ महिनाको लागि म्याद थप गर्न सकिने राष्ट्र बैंकले भनेको छ ।
उक्त प्रयोजनको लागि पूँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र बाहेकका ऋणपत्र, १ वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रामा लिएको ऋण तथा यस बैंकबाट प्रदान गरिएको पुनरकर्जा रकमलाई निक्षेपको रुपमा गणना गर्न सकिनेछ । ऋणपत्र पुँजीकोषको अंगको रुपमा रहने वा नरहने सम्बन्धमा इजाजतपत्रप्राप्त संस्थाले ऋणपत्र जारी गर्दाकै बखत तोक्नु पर्नेछ ।
एकीकृत निर्देशिकाले २०७८ भदौ ८ पूर्व जारी भएका ऋणपत्रको हकमा इजाजतपत्रप्राप्त संस्थाले २०८० पुस मसान्त सम्मको लागि निक्षेपको रुपमा समेत गणना गर्न सक्ने सुविधा दिएको छ ।
ब्याजदर घटाउने रणनीति अनुरूप बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराईने कर्जाको ब्याजदर (बैंकदर) ७.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।