शनिबार, आश्विन १७ गते २०८३

कुम्भेश्वर महिला साकोसले ११औं स्थापना दिवसमा गर्‍यो रक्तदान

भाद्र १, २०७८ मंगलबार
कुम्भेश्वर महिला साकोसले ११औं स्थापना दिवसमा गर्‍यो रक्तदान

 

कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाले ११औं स्थापना दिवस रक्तदान कार्यक्रम आयोजना गरी मनाएको छ । 

कोभिड १९ महामारीका बीचमा पनि संस्थाले मानव जीवनका लागि अत्यावश्यक तत्वको रुपमा रहेको रगतको मागलाई केहि मात्रमा भएपनि परिपूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरेको जनाएको छ ।

कोभिडका कारण उल्लेख्य मात्रमा रक्तदाताहरु सहभागी हुन नसकेको संस्थाकी प्रबन्ध सञ्चालक शान्ता खड्गीले बताइन् । रक्तदान गर्न ३० जनाले सहभागिता जनाएको भएपनि कतिपयले कोभिडको भर्खरै  खोप लगाएको र कतिपय रुघाखोकीको औषधी सेवन गरिरहेकाले १५ जनाले मात्र रक्तदान गर्न सकेको उनले जानकारी दिइन् । विगतका वर्षहरुमा संस्थाले रक्तदानसँगै महिलाजन्य रोगहरुको स्वास्थ्यशिविर गर्दै आएको भएपनि यो वर्ष भने गर्न नसकेको उनले जनाइन् । 

संस्थाले गत असार मसान्तसम्म ६७० शेयरसदस्य, ८५ लाख शेयरपुँजी र १२ करोड बचत संकलन गरी १८ करोडको कुल कारोबार गर्न सफल भएको छ । कोभिड महामारीकाबीचमा संस्थाले निम्न आय भएका ५० परिवारलाई खाद्यान्न सहयोग गरेको थियो भने वडा कार्यालयसँगको सहकार्यमा कौशी खेती तथा मास्क र स्यानिटाइजर बनाउने तालिम दिएको थियो । अधिकांश सदस्यहरुको मासु, तरकारी, फलफुल, खाद्यान्न र ह्याण्डिक्राफ्टको ब्यापार व्यवसाय रहेको र महामारीका कारण नियमित व्यापारव्यवसाय गर्न नसकेका कारण संस्थाको ब्याज आम्दानीमा प्रभाव परेको उनले जानकारी दिइन् । 

मासिक १०० रुपैया बचत गर्ने समुहबाट सहकारीमा रुपान्तरण भएको संस्थाले यस अवधिमा उल्लेख्य प्रगति गर्न सकेको छ । सदस्यहरुको आर्थिक सामाजिक उत्थानका लागि समुदायमा आधारित भएर काम गर्दै आएको उक्त संस्थाले सदस्यहरुको स्तरोन्नतिका लागि काम गर्दै आएको छ । गरिबी निवारण कोषसँग सहकार्य गरेर संस्थाले बेरोजगार र न्यून आय भएका सदस्यहरुको आयस्तर वृद्धि गर्न लघुवित्त र स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने खड्गीले बताइन् । 

अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गरी महिला सदस्यहरुलाई साक्षर बनाउनुकासाथै विद्युतीय सञ्चारका साधनहरु प्रयोग गर्न सक्ने बनाउने काममा पनि संस्थाको भूमिका रहेको छ । 

kumbheswor.jpg