मंगलबार, कार्तिक ११ गते २०८३

पाेखरा राेयलले युवा सम्मेलन गर्दै, रजिष्ट्रेशन गर्न आव्हान

बैशाख २९, २०८० शुक्रबार
पाेखरा राेयलले  युवा सम्मेलन गर्दै, रजिष्ट्रेशन गर्न आव्हान

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले युवा सम्मेलन गर्ने भएको छ । संस्थाले २२औं स्थापना दिवसको अवसर पारेर युवा सम्मेलन गर्न लागेको हो । संस्थाले ‘हन्ड्रेड युथ, सहकारी दूत’ भन्ने नारा तय गरेको र युवा सदस्यहरुलाई लक्षित गरी कार्यक्रम गर्न लागेको प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ्गले जानकारी दिए । सय जना युवाहरुलाई सहभागी गराएर सहकारीको बारेमा बताउने, सहकारीले दिँदै आएको सेवाको बारेमा जानकारी दिने र सहकारीप्रति उनीहरु धारणा र इच्छा बुझ्ने उदेश्यका साथ कार्यक्रम गर्न लागेको उनले जानकारी दिए ।

त्यसैगरी सम्मेलनबाट युवाहरुले के चाहन्छन्, त्यसको खोजी गर्ने र एक सय जना युवालाई सहकारीको बारेमा पढाएर जहाँ जहाँ उनीहरु बस्छन् त्यहाँ भोलेन्टर दूतको रुपमा पठाउने संस्थाको योजना रहेको छ । सहकारीमा नराम्रा पक्ष मात्र छैन, सहकारीले समुदाय र सदस्यको फाइदाको लागि पनि धेरै काम गरिराखेका छन् भन्ने जस्त विषयमा थोरै बहस गरियो भने समाजमा सकारात्मक सन्देश जाने उनले बताए । युवा र सहकारी तथा युवा र सहकारीको दायित्व भन्ने विषयमा कार्यपत्र पनि प्रस्तुत गरिने भएको छ ।  

त्यसैगरी संस्थामा आवद्ध १८ देखि ४० बर्षका युवामध्ये ४–५ जनाले सहकारीमार्फत् हासिल गरेको सफलता कथा र उनीहरुको अनुभव पनि सम्मेलनमा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । सहकारीले पनि प्रविधि प्रयोगमा ल्याएको छ र भविष्यमा सहकारीमार्फत् पनि व्यवसायहरु गर्न सकिन्छ भनेर सहकारीमार्फत् सम्भावनाको खोजी गर्न आँटेको उनले जानकारी दिए । 

आगामी जेठ ६ गते संस्थाले सो सम्मेलन गर्ने जनाएको छ । संस्थामा ८ हजार ५ सय सक्रिय सदस्य रहेका छन् । त्यस मध्ये १८  देखि ४० बर्ष उमेर समुहका सदस्य ४२ प्रतिशत रहेको संस्थाले जनाएको छ । अनलाइन र संस्थाको सबै सेवाकेन्द्र मार्फत आवेदन दिन सकिने र युवा युवती दुवै समावेश हुने गरी सम्मेलनमा सहभागिता गराउने उनले बताए । संस्थाले यस्तो कार्यक्रम पहिलो पटक गर्न लागेको हो । विषम परिस्थितिमा अझ बढी सदस्यमाझ पुग्नुपर्छ र संस्थाको बारेमा जानकारी दिनुपर्छ भन्ने उदेश्य पनि सम्मेलनको रहेको छ । सम्मेलनमा एक सय मात्र युवालाई सहभागि गराउने र सय जना पुगेपछि आवेदन लिन बन्द गरिने भन्दै उनले फस्ट कम फस्ट सर्भिस दिने जनाए ।

पहिलो चरणमा सय युवालाई मात्र सहभागि गराउने र आगामी बर्षदेखि अन्य युवाहरुलाई सहभागी गराएर बर्षमा यस्ता एक÷दुई वटा कार्यक्रम गर्ने उनले जनाए । युवाहरुसँग बचतका लागि पैसाको अभाव र सहकारीहरु डिजिटल युगमा प्रवेश गर्न नसक्दा सहकारीप्रति युवाको आकर्षण नभएको सिइओ गुरुङले बताए । युवाहरुले प्रविधि खोजिराखेका हुन्छन्, तर सबै सहकारीले प्रविधि प्रयोग गर्न सकेका छनैन्, उनले भने‘ रोयलले एटिएम, मोबाईल बैकिंङ र क्युआर पे–मेन्ट जस्ता सेवा सञ्चालनमा ल्याइसकेको छ । हामीले अझैपनि सबै खाले प्रविधि ल्याउन सकेका छैनौं कि भन्ने लाग्छ ।’ अकोतर्फ सहकारीका बारेमा प्रचारप्रसार कम हुँदापनि युवाहरुको आकर्षण बढ्न नसकेको उनको बुझाई छ । संस्थाले २२औं स्थापना दिवससम्म आइपुग्दा समुदाय र सदस्यका लागि विविध सेवा दिन सकेको छ । सदस्य र समुदाय केन्द्रित भएर वित्तीय कारोवार गर्न सके, समय सापेक्ष लिडरसिप विकास गर्दै लैजान सके र सहकारी ऐन नियमलाई पालना गर्न सके सहकारी सफल हुने उनको विश्वास छ । सदस्यसँगै मिलेर कारोबार गरे सहकारीमा समस्या नआउने र सदस्यको विश्वास पनि निरन्तर रहने उनले बताए । सदस्यको विश्वास जित्न सके सहकारीले यस्ता आर्थिक मन्दीलाई पनि परास्त सकिने विश्वास उनको छ ।