सदस्यको बचत फिर्ताको दबाब झेल्न नसकेपछि कतिपय सहकारी संस्थाका सञ्चालकहरुले आत्महत्या गर्ने क्रम बढेको छ । मन्दीका कारण बजारमा आर्थिक क्रियाकलापहरु सुस्त हुँदै जाँदा लगानीमा रहेको रकम समयमा फिर्ता नआएपछि सहकारी संस्थाहरुमाथि सदस्यको बचत फिर्ताको चाप बढ्दै गएको हो ।
विश्व अर्थतन्त्रमा आएको मन्दीको प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको छ । त्यसमा पनि मन्दीले सहकारी संस्थाहरुलाई नराम्रोसँग गाँजेको छ । व्यापारव्यसायमा आएको शिथिलताका कारण लगानी भएको रकम समयमा फिर्ता नआएपछि कतिपय संस्थाहरुलाई सदस्यको बचत फिर्ता गर्न समस्या परेको छ । अर्कोतर्फ सदस्यहरुले पनि सहकारीप्रति विश्वास गर्न छाडेका छन् । विभिन्न बहाना बनाएर सहकारीमा राखेको बचत फिर्ता लिने क्रम पछिल्लो समयमा बढेर गएको छ ।
कतिपय सहकारी संस्थाका सञ्चालकको गलत नियत नहुँदाहुँदै पनि असहज परिस्थितिका कारण बचत फिर्तामा समस्या परेको छ । सदस्यले भनेकै समयमा बचत फिर्ता नपाएपछि सहकारीका सञ्चालकहरुलाई शारिरिक तथा मानासिक दबाब दिने क्रम बढेर गएको छ । जसकामरण कतिपय सहकारीका सञ्चालकले त्यस्तो दबाबलाई झेल्न नसक्दा आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । कतिपय अवस्थामा सहकारीका सञ्चालकको कारणले मात्र नभई सदस्यका कारणले पनि सहकारी संस्थाहरु समस्या परेका उदाहरण प्रशस्तै छन् ।
अर्कोतर्फ केहि सहकारी संस्थाले सदस्यबाट संकलन गरेको बचत घर जग्गा लगायतका अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् भने कतिपयले साबुन बनाउने, रेष्टुरेन्ट तथा अन्य कम्पनी खडा गरी नीजि कम्पनी सरह लगानी गरेका कारण समयमा सदस्यको बचत फिर्ता गर्न सकिराखेका छैनन् ।
सदस्यहरुले दैनिक जसो कार्यालयमा आएर बचत फिर्ताको दबाब दिने, मानासिक तनाब दिने र पैसा उठाउनका लागि गुन्डा समेत परिचालन गर्ने गरेको पाइएको छ । दवाव खेप्न नसकेर मुलुकभर सहकारीकर्मीका अनुसार अहिलेसम्म ४० जना भन्दा बढीले आत्महत्या गरिसकेको एक सहकारीकर्मीले बताए ।
कतिपय सहकारीकर्मी सुसाइट नोट लेखेर बेपता भएका छन् । केहि समय अगाडी ललिपुरमा रहेको नयन बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष केशव दाहालले सामाजिक सञ्जाल सुसाइट नोट लेखेर वेपता भएका छन् भने हालै मात्र जोरपाटीमा रहेको मुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरवहादुर तामाङले आत्महत्या गरेका छन् । त्यसैगरी भक्तपुरमा रहेको कृषि विकास बचत तथा ऋण सहकारी संस्था प्रबन्ध सञ्चालक सदस्यहरुको हातबाट बेइज्जत खेप्न बाध्य भएका थिए । उनलाई सदस्यहरुले नै जुत्ताको माला लगाएर सडकमा निकालेका थिए ।
सहकारीको समस्या जटिल बन्दै गएपनि यस तर्फ राज्यको उचित ध्यान जान सकेको छैन । वास्तविक समस्याको पहिचान गरी समाधानमा राज्यले भूमिका खेल्नु पर्ने भएपनि त्यसतर्फ राज्यका जिम्मेवार निकाय अग्रसर भएको पाईदैन ।
सहकारी बचाऔं राष्ट्रिय अभियानको तर्फबाट संयोजक नरेन्द्र बिष्टले वक्तव्य प्रकाशित गर्दै मुक्ति सहकारीका अध्यक्ष तामाङले सहकारी सञ्चालनको क्रममा आफ्नो व्यक्तिगत तथा पारिवारिक सम्पती समेत बेचेर प्रतिकूल अवस्थामा पनि संस्था बचाउन र सदस्यको हित पूरा गर्न लाग्दालाग्दै पनि केहि सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले सहयोग नगर्दा आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् । समस्या सल्टाउनका लागि सञ्चालक समिति र सदस्यले सहयोग गर्नुको साटो उल्टो धाकधम्की र दबाब दिने गरेकाले असहज परिस्थिति सृजना भएपछि बाध्य भएर आत्महत्याको बाटो रोजेको वक्तव्यमा जनाइएको छ । असल नियतका साथ समस्या समाधानार्थ आफ्नो सर्वस्व त्यागेर लागि पर्दापर्दै पनि बाँच्न नसक्ने घटनाको मुख्य कारण राज्य भएको उनले औंल्याएका छन् ।
विश्व नै आर्थिक मन्दीको चपेटामा परिरहेको विषम परिस्थितिमा सहकारी सञ्चालक वा सहकारीकर्मी भएकै कारण आत्महत्या गर्न बाध्य पारिनुले संविधानले नै तिनखम्बे अर्थनीतिको एक महत्वपूर्ण खम्बाको रुपमा स्विकार गरेको सहकारी क्षेत्रप्रति राज्यको उदासिनता रहेको प्रष्ट भएको उनले जनाए । यस्ता घटना अब उप्रान्त दोहोरिन नदिन राष्ट्रिय सहकारी महासंघ, सहकारीका जिम्मेवार निकाय र राज्य संवेदनशील हुनुपर्नेमा उनले जोड दिएका छन् । यस्ता घटना दोहोरिन नदिनका लागि मन्दी एवं विषम परिस्थितिमा संयम भएर प्रस्तुत हुन सम्पूर्ण सहकारी संस्थाका सदस्यलाई उनले आग्रह गरेका छन् । सहकारीकर्मीलाई यस्तो अवस्थामा अप्रिय निणर्य लिनुको साटो दृढताकासाथ खडा भएर सहकारीका निकायहरुसँग समन्वय गर्दै समस्या समाधानको बाटोमा लाग्न उनको आग्रह छ ।
सदस्यकाे ५० प्रतिशत बचत फिर्ता गरिसक्दा पनि सम्पूर्ण बचत फिर्ता माग्न आउने दवाब रहेकाे केहि सहकारीका सञ्चालकले बताएका छन् । मुलुककाे वित्तीय अवस्था नाजुक रहेकाले २ वर्षकाे कुलिङ पिरियड दिएर सदस्यहरूकाे बचत फिर्ता गर्न पाउनुपर्ने माग सहकारीकर्मीले अघि सारेका छन् ।