शुक्रबार, कार्तिक ७ गते २०८३

‘‘सदस्यले सबै सहकारीलाई एउटै डालोमा हालेर तुलना गर्नुहुँदैन’’

बैशाख २८, २०८० बिहीबार
‘‘सदस्यले सबै सहकारीलाई एउटै डालोमा हालेर तुलना गर्नुहुँदैन’’

 

सामुदायिक रुपमा चलेका काभ्रेको सहकारी संस्थामा अहिलेसम्म कुनै समस्या देखिएको छैन । सदस्य र समुदाय केन्द्रीत सहकारी संस्थामा सदस्यहरुको विश्वास उही रहेको र बचत आउने क्रम पनि नरोकिएको काभ्रेका सहकारीकर्मीले बताएका छन् । सदस्यले आवश्यकता अनुसार आफनो बचत राख्न, झिक्ने गरिरहेको र बचत फिर्तामा कुनै समस्या नभएको सहकारीकर्मीहरुले बताए । संस्थाहरुले सदस्यको आवश्यकताका आधारमा २० देखि २५ लाखसम्मको ऋण लगानी समेत गर्दै आएका छन् ।

  आभाष बचत तथा ऋण सहकारी संस्थाका मुख्य प्रबन्धक सुभाष बैद्यले  कतिपय सञ्चालकहरुको क्रियाकलापले सहकारीको बदनामी भएको बताएका छन् । सबै सहकारीलाई एउटै डालोमा हालेर तुलना गर्न नमिल्ने भन्दै उनले सदस्यबाट बचत लिएर व्यक्तिगत फाइदाका लगानी गर्नेहरु सहकारीकर्मी नै नभएको उनले प्रष्ट पारे । सहकारी आफैमा गलत नभएको तर कतिपयले सहकारीलाई गलत तरिकाले प्रयोग गर्दा अहिलेको समस्या आएको उनको बुझाई छ ।

त्यसैगरी कतिपय सदस्यले संस्थाका सञ्चालकहरुको बारेमा केही नबुझी व्याजको लोभमा परेर ठूलो बचत जम्मा गर्दा अहिले समस्या परेको उनले उल्लेख गरे । सहकारी विभागले सन्दर्भ व्याजदर १६ प्रतिशत तोकेको अवस्थामा त्यो भन्दा बढीमा लगानी गर्न पाईदैन तर कतिपय सहकारी संस्थाले १६ प्रतिशत भन्दा माथि व्याज दिएर बचत लिएका छन् । लगानी नै १६ प्रतिशत भन्दा बढीमा गर्न नपाईने अवस्थामा व्याजको लोभमा बचत नगर्न सदस्यहरुलाई उनको सुझाव छ । सहकारीले सदस्य शिक्षामा जोड दिनुपर्ने बेला आएको बताउँदै उनले अब सहकारी शिक्षा मार्फत बैंक, फाइनान्स र सहकारीबीचको फरक बताउनु पर्नेमा उनको जोड छ । त्यसैगरी सदस्यलाई  व्याजदर र बजारका बारेमा पनि बुझाउन आवश्यक रहेको छ ।

आभाष सहकारीले सदस्यको आवश्यकता अनुसार व्यापार व्यवसायमा १५–२० लाख ऋण लगानी गर्दै आएको छ । नियम विपरित चलेका र अनुत्पादक क्षेत्रमा ऋण लगानी गरेका सहकारीमा बचत फिर्ताको समस्या रहेको उनले जानकारी दिए । ‘लगानीका आफनै प्रकिया हुन्छन्’, उनले भने ‘अन्धाधुन्दा लगानी गरेका र सञ्चालकले नै सदस्यको बचत चलाएका केही सहकारीमा बचत फिर्ताको समस्या छ । ‘स्थानियले सञ्चालन गरेको बचत ऋण, बहुउदेश्यीय र कृषि कुनै प्रकारका सहकारीमा समस्या नरहेको उनले बताए । समस्यामा पर्ने सहकारीहरु अन्य जिल्लाबाट आइ सेवाकेन्द्र खोलेका वा बाहिर जिल्लाबाट आएर सहकारी सञ्चालन गरेकाहरु नै रहेका छन् । सहकारीको सञ्चालक को हुन्, उनीहरुको पृष्ठभुमि के हो, केही नबुझी सदस्य बनेर काराबार गरेकाले कतिपय सदस्य अहिले समस्यामा परेका छन् । स्थानियले सञ्चालन गरेको र कर्मचारी पनि स्थानिय नै भएको सहकारीमा कुनै समस्या देखिएको छैन । सहकारीले ऐननियम मानेर सिष्टममा चलेको भए अहिले देखिएको जस्तो विकराल समस्या आउने थिएन । ऐन नियम पालना गरेका सहकारीमा समस्या नआएको भन्दै उनले थपे, ‘समस्यामा परेका सहकारीमा सरकारले पनि अनुगमन गर्न सकेन भने उनीहरु स्वंयले पनि ऐननियमलाई मानेनन् । सहकारी स्वनियमनमा चल्ने संस्था भए पनि त्यसको पालना संस्थाहरुले गरेनन्, मनोमानी  ढंगले संस्था चलाए । ऋणको व्याजको सिमा छैन भने पछि बचतको ब्याजको सिमा हुने कुरै भएन ।’

वित्तीय कारोवार गर्ने संस्था भएकाले वित्तीय अनुशासनमा चल्नु पर्नेमा उनको जोड छ । वित्तीय ज्ञान नै नभएका व्यक्तिहरुले सहकारी सञ्चालन गरिराखेका छन् । यसले पनि दुर्घटना ल्याएको उनको बुझाई छ । देखासिखी र होडबाजीमा सहकारी खोले र सहकारीका बारेमा अध्ययन छैन, ज्ञानको अभाव छ । यसरी अन्धाधुन्दा तरिकाले अगाडि बढ्दा सहकारीहरु समस्यामा परेको उनको भनाई छ । सहकारी संस्थाले नियमित रुपमा वित्तीय विवरण प्रकाशित गरेको छ कि छैन्, नियमित साधारण सभा भएको छ कि छैन, सञ्चालक समितिमा कस्ता व्यक्ति छन्, सञ्चालक समितिले हिसाबकिताब पारदर्शी ढंगले प्रस्तुत गरेका छन् की छैनन्, संस्थाको नियमित रुपमा नियमन अनुगमन भईराखेको छ कि छैन यी सबै कुराको अध्ययन गरेर मात्र सदस्य बन्न उनले सुझाए । अर्कोतर्फ सहकारीहरुले पनि सहकारी शिक्षा शिविर सञ्चालन गरी सदस्यलाई सहकारीको महत्वको बारेमा बताउनु पर्ने उनले बताए ।

जिल्लाको समस्या विकराल नबनेको र सबै पक्ष मिलेर गए समस्या समाधान गर्न सकिने उनले बताए । जिल्लामा रहेका सहकारीले प्रकाशन गरेको वित्तीय विवरण हेर्दा तरलता २० प्रतिशत माथि रहेको छ । सहकारीमा डरलाग्दो अवस्था आउन मासिक रुपमा तरलता घट्दै गएको अवस्था हुनपथ्र्यो । तर त्यो अवस्था जिल्लामा छैन । बचतमा वृद्धि हुँदै गएकाले तरलता बढेको अवस्था छ । राम्रा सहकारी संस्थामा शेयर पुँजीका साथै क्रमिक रुपमा बचत वृद्धि हुँदै गएको अवस्था रहेकाले ढुक्क भएर कारोबार गर्न उनको सुझाव छ । जुन संंस्था बदनियत राखेर सञ्चालन भएका छन् र वित्तीय विवरण प्रकाशन गरेका छैनन् त्यस्ता संस्थामा भने सजग भएर मात्र कारोवार गर्न उनले जनाए ।