गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी लगानीकर्ताहरुले नेपालको समृद्धिको लागि नेपालमा लगानीमा जोड दिएका छन् । कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीले नेपालमा लगानी गर्दा समस्या रहेको बताउँदै विदेशी लगानीमा न्युनत २ करोडको सिलिङ्ग तोकिनु व्यवहारिक नभएको बताए ।
उनले संघले अघि सारेको १० अर्ब लगानीको परियोजनामा सा–साना लगानीकर्ताहरु जोड्ने उद्देश्यले सामूहिक लगानीको परियोजना अघि सारिएको बताए । उनले निकट भविष्यमा सो फण्डमा न्यूनतम २ सय ५० डलर लगानी गर्नसक्ने नेपालीलाई जानकारी दिने उद्देश्यले रोड शोको आयोजना गरिने जानकारी दिए । डा. केसीले गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्न केही ऐन तथा कानूनहरुमा अझै पनि संशोधनको आवश्यक रहेको बताए । समृद्धिका लागि गैरआवासीय नेपालीहरुको संयुक्त लगानी विषयको अन्तरक्रिया कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले कार्यक्रममा बोल्दै नेपालमा आर्थिक लगानीका अतिरिक्त ज्ञान र सिपसमेत भित्र्याउन जोड दिए । पन्तले गैरआवासीय नेपालीहरुको दर्दिखोला जलविधुत आयोजनामा भएको सामूहिक लगानी सफल भएको चर्चा गरे ।
उनले विदेशमा रहेका नेपालीहरुको ससानो पुँजीलाई देशको समृद्धिका जोड्नको लागि नेपालमा १० अर्बको लगानी परियोजना अगाडि सारिएको बताए । पन्तले १० अर्ब लगानीमा भएको साना लगानीबाट पनि ठूलो मुनाफा हुने जिकिर गरे । पन्तले विदेशमा बस्ने ६ लाख नेपालीलाई लक्ष गरी आइपीओ जारी गर्न लागिएको जानकारी दिए । उनले गैरआवासीय नेपालीहरुको सयुक्त लगानीमा स्थापना गरिएको एन।आर।एन नेपाल डेप्लोमेन्ट फण्डमा ढुक्क भएर लगानी भित्र्याउन आग्रह गरे ।