नेचुरल बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यलाई सम्मान गरेको छ । १६औं स्थापना दिवसको अवसरमा संस्थाले ७० वर्ष माथिका ६० जना जेष्ठ सदस्यलाई सम्मान गरेको हो । संस्थाकै प्रधान कार्यालयमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान र अस्पतालसँग छुट सम्झौता गरी स्थापना दिवस मनाएको हो । संस्थाको प्रधान कार्यालयमा बृहत रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको थियो । त्यस्तै सदस्यहरुलाई प्रविधिमैत्री सेवा विस्तारको क्रममा संस्थाले नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ ।
अब कनेक्ट आईपिएसमार्फत जुनसुकै बैंक तथा वित्तीय संस्थाको खाताबाट नेचुरल सहकारीको खातामा रकम ट्रान्सफर गर्न सकिने भएको छ । यो सेवाको सफल परिक्षणसँगै सेवा सुरु भैसकेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए । अनेक्ट आईपिएसमा नेचुरल सहकारी जोडिएसँगै प्रविधिमैत्री सेवामा सधै एक कदम अगाडि रहेको सावित भएको समेत पाठकले बताए । त्यस्तै शंखरापुर अस्पताल र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालसँग पनि संस्थाले सम्झौता गरेको छ । उक्त अस्पतालहरुमा सदस्यहरुको उपचार, औषधी खरिद, विभिन्न परिक्षणमा छुट दिने गरी सम्झौता गरेको हो ।

हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालसँगको सम्झौता पत्रमा संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक र अस्पतालको तर्फबाट प्रशासक रविन पोखरेलले हस्ताक्षर गरेका छन् । अस्पतालको सेवामा नेचुरल सहकारीका सदस्यले ७ देखि ५० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । त्यस्तै शंखरापुर अस्पतालसँगको सम्झौतामा संस्थाका प्रमुख कार्यकारी सञ्चालक पाठक र अस्पतालका प्रमुख प्रशासकिय अधिकृत रुपक ढकालले हस्ताक्षर गरेको छ । उक्त अस्पतालले प्रदान गर्ने सेवामा ५ देखि १२ प्रतिशतसम्म छुट पाउने छन् । यस अघि पनि संस्थाले विभिन्न अस्पताल, सपिङ सेन्टर, होटल, रेस्टुराँ, विभिन्न सेवा प्रदायक कम्पनीसँग सम्झौता गरी सदस्यलाई राहत प्रदान गर्दै आएको छ ।