बुधबार, भाद्र ३ गते २०८३

२२ हजार सदस्यलाई सेवा दिँदै जनमुखी साकोस, वित्तीय अवस्था अब्बल

बैशाख २४, २०८० आइतबार
२२ हजार सदस्यलाई सेवा दिँदै जनमुखी साकोस, वित्तीय अवस्था अब्बल

 
दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २२ हजार सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले जिल्लामा रहेका स्थानीयहरुलाई सदस्य बनाई वित्तीय सेवा प्रदान गर्दै आएको हो । 
संस्थाले दोलखा सहित पाँच वटा जिल्ला कार्यक्षेत्र बनाएको भएपनि अन्य जिल्लाहरुमा भने सदस्य नबनाउने संस्थाका व्यवस्थापक भेष बहादुर मिजारले बताए । काठमाडौंमा संस्थाका ५ हजारको हाराहारीमा सदस्य रहेकाले उनीहरुलाई सहज रुपमा सेवा दिने उदेश्यले सेवाकेन्द्र विस्तार गरेको उनको भनाई छ । कतिपय सदस्य अस्थायी रुपमा काठमाडौंमा बसोवास गर्दै आएको र उनीहरुलाई पनि सेवा दिन कार्यक्षेत्र विस्तार गरेको उनको भनाई छ । ५ हजार सदस्य काठमाडौंमा बस्दै आएको र मुख्य कार्यालयपछि काठमाडौं सेवाकेन्द्रमा बढी कारोबार हुने गरेको  छ । संस्थाको नाम्दु, गैरिमुदी, चरिकोट, जुँगु, खावा र काठमाडौंमा सेवा केन्द्र रहेका छन् ।

ग्रामिण भेगका सहकारीहरु मासिक बचतलाई मुख्य आधार बनाएर सञ्चालन हुने गरेको र संस्थाको ९६ करोडको बचतमा ५० करोड भन्दा माथि रकम मासिक बचत रहेको उनले जानकारी दिए । संस्थाले १ करोडसम्म ऋण लगानीको सिमा राखेको भए पनि वैदेशिक अध्ययनमा जाने सदस्य र सदस्यका छोराछोरीलाई २० देखि २५ लाखसम्म ऋण लगानी गर्ने गरेको छ । त्यसैगरी संस्थाले सदस्यको व्यापर व्यवसाय हेरेर १५ देखि २० लाखसम्म ऋण लगानी गर्ने गरेको र अहिलेसम्म लगानीका लागि  स्रोतको कुनै समस्या नभएको उनले बताए ।

संस्थामा २२ हजार सदस्य आवद्ध रहेका छन् । उनीहरुले मासिक एक सय रुपैयादेखि ५ हजारसम्म बचत गर्ने गरेका छन् । संस्थाले मासिक बचतबाट महिनामा ३५ लाखभन्दा बढी रकम संकलन गर्ने गरेको छ । सहकारीको लागि मासिक बचत मेरुदण्ड नै रहेको भन्दै उनले थोपा थोपा गरेर घैला भर्ने भनेझैं ससानो बचत गर्दै जाँदा भविष्यको लागि ठुलो पुँजी निमार्ण हुने उनको बुझाई छ । एक त सानो पैसा बचत गरेको पत्तै हुँदैन भने अर्कोतर्फ दैनिक एक कप चिया कटाउँदा पनि मासिक बचतको पैसा जम्मा गर्न सकिने हुनाले सबैलाई मासिक बचतमा सहभागी हुन उनको आग्रह छ । यसले सदस्यको बचत पनि वृद्धि हुँदै जाने र आवश्यकता पर्दा गज्र्रो टार्न सकिने वा बुढेसकालको सहारा समेत बन्ने उनले सुनाए ।

अहिलेको वित्तीय संकटको अवस्थामा तरलता व्यवस्थापन गर्न मासिक बचत नै महत्वपुर्ण भएको उनको अनुभव छ । संस्थाको कुल कारोबार १ अर्ब २२ करोड पुगेको छ । त्यसको ७ प्रतिशतको हारहारीमा जगेडाकोष रहेको छ । संस्थाले सदस्यहरुलाई आकस्मिक उपचारमा सहयोग पुर्याउँदै आएको छ भने सामूदायिक विकासमा पनि संस्थाले सहयोग गर्दै आएको छ । बैतेश्वर अस्पतालमा सदस्यले उपचार गराउँदा १० प्रतिशत छुटको व्यवस्था मिलाएको छ । विद्यार्थीहरुलाई छात्रवृति देखि सदस्यलाई सामाजिक सुरक्षा वापत विभिन्न सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ । सदस्यको मृत्यु हुँदा ५ हजार आश्रित परिवारका सदस्यलाई प्रदान गर्दै आएको छ । शुरुवाती सदस्यले ५२ हजारसम्म विभिन्न सुविधावापत पाउने गरेको संस्थाले जनाएको छ । शहरी क्षेत्रमा सहकारीले मुल्य, मान्यता र सिद्धान्तबाहिर गएर उदेश्य भन्दा बाहिर काम गर्दा सहकारीमा समस्या आएको र सदस्यको विश्वास  घट्दै गएको उनले जनाए । ‘शहरी क्षेत्रका सहकारीले मासिक बचत भन्दा पनि सदस्यबाट मुद्दती र ऐच्छिक बचत बढी लिएकाले समस्यामा परेका हुन्’, उनले भने ‘सदस्य धेरै नहुने र एउटै सदस्यबाट ठुलो बचत लिदाँ समस्या आएको हो ।’ दोलखाका सहकारीमा अहिलेसम्म तरलता समस्या नआएको र आर्थिक क्रियाकलाप पनि ठुलो नभएकाले ससानो ऋणको माग हुने गरेको उनले जानकारी दिए । जिल्लामा अहिलेसम्म बचत नै फिर्ता गर्न नसक्ने अवस्था कुनै संस्थामा नआएको र सदस्यले ऋण मागेको खण्डमा आवश्यकता अनुसार ऋण पनि लगानी गर्दै आएको व्यवस्थापक मिजारको भनाई छ ।

संस्थामा आवद्ध भएका सदस्यहरुको जिवनस्तरमा पनि ठुलो परिवर्तन आएको उनी बताउँछन् । संस्थाकै कारण नाङ्लो पसलबाट ठुलो पसल गर्न सकेका र झुप्रोबाट पक्कि घर बनाएर बस्न सक्ने अवस्थामा सदस्य पुगेका छन् । संस्थाले व्यवसायिक कृषिमा लगानी गरी धेरै सदस्यलाई सफल कृषक बनाएको छ । त्यसैगरी वैदेशिक रोजगारमा जानेहरुलाई सहज रुपमा ऋण लगानी गरि उनीहरुको जिवनस्तर बदल्न सघाएको छ । संस्थाले ऋण लगानीको लागि पहिलो प्राथमिकता व्यापार व्यवसायलाई नै दिएको छ । संख्यात्मक हिसाबले भने संस्थाले कृषकहरुलाई लगानी गरेको छ । एउटा भैंसी किन्न एक लाख चाहिन्छ, एउटा बाख्रा किन्न २०÷३० हजार चाहिन्छ । त्यस्ता हजारौं सदस्यलाई संस्थाले ऋण लगानी गरेको  छ । रकमको हिसावले व्यवसायमा बढी लगानी गरेको भए पनि संख्याको हिसाबले कृषिमा लगानी रहेको उनले सुनाए ।

संस्थाले बैतेश्वर गाउँपालिका, साविक जुँगु, ठुलो पातल र भिमेश्वर नगरपालिकामा सदस्य विस्तार गरि कारोबार गर्दै आएको छ । कार्यक्षेत्र बढाएर ठुलो संस्था बनाउने भन्दा पनि गुणस्तरिय संस्था निमार्ण गरी सदस्यलाई प्रभावकारी सेवा दिने लक्ष्य रहेको उनले जानकारी दिए । सहकारीले कृषिमा लगानी गर्न सक्ने र संस्थाले व्यवसायिक कृषि आलु खेती, गाई तथा भैंसी पालन गर्ने सदस्यलाई अन्य ऋण भन्दा २ प्रतिशत सस्तो व्याजदरमा ऋण प्रवाह गर्दै आएको छ।

संस्थाले एबोमा समुहमार्फत व्यवसायिक आलु खेती र गाई पालनमा ऋण लगानी गरिसकेको छ । स्थानिय सरकारले बजारको सुनिश्चितता गरिदिने हो भने सहकारीमार्फत उत्पादन बढाउने सकिने उनको विश्वास छ । उत्पादित वस्तुको बजारिकरण नै अहिलेको मुल समस्या हो, उनले भने ‘बचत ऋण सहकारीले बहुउदेश्यीय सहकारीले जस्तै सबै काम गर्न मिल्दैन, बचत ऋण पहिलो काम हो । संस्थाले सदस्य माझ ऋण लगानी गरेर उत्पादन गर्ने हो । राज्यले बजारको व्यवस्था गरिदिए उत्पादन गर्न सक्ने सम्भावना धेरै छ ।’ अहिले जताततै बाँझा जमिन धेरै भएको र सरकारले सहयोग गरे उत्पादनमा लगानी बढाउन सकिने उनले बताए ।

बैंक तथा वित्तीय संस्थालाई त ठुलो ऋण असुलीमा समस्या छ भने सहकारीलाई त्यो समस्या नहुने कुरै भएन । मिजार भन्छन् ‘आर्थिक मन्दीका कारण व्यापारव्यवसाय ठप्प छ । ठेक्कापट्टा गरिरहेकाहरुको काम चल्न सकेको छैन । यसले केहि ठुला ऋण असुलीमा समस्या परेको छ ।’ किसानले लगेको ऋण र खुद्रा व्यापारमा गएको ऋणमा भने कुनै समस्या छैन । सानो कारोबार गर्ने भन्दा पनि सहकारीबाट ठुलो ऋण लैजाने र समय नतिर्ने सदस्यको हकमा गाउँपालिकाले समेत उठाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले जानकारी दिए । सहकारीका सदस्यको बचत सुरक्षाको लागि गाँउपालिकाले सहयोग गरिदिने कुराले सहकारीहरुलाई ठूलो राहत मिलेको उनको भनाई छ । बैंक र लघुवित्तको ऋणसमयमा चुक्ता गरेपनि सहकारीको ऋण चुक्ता गर्न सदस्यले आलटाल गर्ने गरेको उनले जनाए । तिर्न सकेपनि बैंकको ऋणलाई पहिलो प्राथमिकता दिने र सहकारीको ऋण लिर्न भने आलटाल गर्ने सदस्यहरुका कारण सहकारीहरुमा केहि समस्या देखिएको उनको अनुभव छ । स्थानिय सरकारले सहकारी शाखा स्थापना गरी कर्मचारीको व्यवस्थापन गरेर गाँउपालिका भित्रका सहकारीको नियमन गर्ने कुरा आएको छ, यो विषय सकारात्मक भएको उनको भनाई छ ।