दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २२ हजार सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले जिल्लामा रहेका स्थानीयहरुलाई सदस्य बनाई वित्तीय सेवा प्रदान गर्दै आएको हो ।
संस्थाले दोलखा सहित पाँच वटा जिल्ला कार्यक्षेत्र बनाएको भएपनि अन्य जिल्लाहरुमा भने सदस्य नबनाउने संस्थाका व्यवस्थापक भेष बहादुर मिजारले बताए । काठमाडौंमा संस्थाका ५ हजारको हाराहारीमा सदस्य रहेकाले उनीहरुलाई सहज रुपमा सेवा दिने उदेश्यले सेवाकेन्द्र विस्तार गरेको उनको भनाई छ । कतिपय सदस्य अस्थायी रुपमा काठमाडौंमा बसोवास गर्दै आएको र उनीहरुलाई पनि सेवा दिन कार्यक्षेत्र विस्तार गरेको उनको भनाई छ । ५ हजार सदस्य काठमाडौंमा बस्दै आएको र मुख्य कार्यालयपछि काठमाडौं सेवाकेन्द्रमा बढी कारोबार हुने गरेको छ । संस्थाको नाम्दु, गैरिमुदी, चरिकोट, जुँगु, खावा र काठमाडौंमा सेवा केन्द्र रहेका छन् ।
ग्रामिण भेगका सहकारीहरु मासिक बचतलाई मुख्य आधार बनाएर सञ्चालन हुने गरेको र संस्थाको ९६ करोडको बचतमा ५० करोड भन्दा माथि रकम मासिक बचत रहेको उनले जानकारी दिए । संस्थाले १ करोडसम्म ऋण लगानीको सिमा राखेको भए पनि वैदेशिक अध्ययनमा जाने सदस्य र सदस्यका छोराछोरीलाई २० देखि २५ लाखसम्म ऋण लगानी गर्ने गरेको छ । त्यसैगरी संस्थाले सदस्यको व्यापर व्यवसाय हेरेर १५ देखि २० लाखसम्म ऋण लगानी गर्ने गरेको र अहिलेसम्म लगानीका लागि स्रोतको कुनै समस्या नभएको उनले बताए ।
संस्थामा २२ हजार सदस्य आवद्ध रहेका छन् । उनीहरुले मासिक एक सय रुपैयादेखि ५ हजारसम्म बचत गर्ने गरेका छन् । संस्थाले मासिक बचतबाट महिनामा ३५ लाखभन्दा बढी रकम संकलन गर्ने गरेको छ । सहकारीको लागि मासिक बचत मेरुदण्ड नै रहेको भन्दै उनले थोपा थोपा गरेर घैला भर्ने भनेझैं ससानो बचत गर्दै जाँदा भविष्यको लागि ठुलो पुँजी निमार्ण हुने उनको बुझाई छ । एक त सानो पैसा बचत गरेको पत्तै हुँदैन भने अर्कोतर्फ दैनिक एक कप चिया कटाउँदा पनि मासिक बचतको पैसा जम्मा गर्न सकिने हुनाले सबैलाई मासिक बचतमा सहभागी हुन उनको आग्रह छ । यसले सदस्यको बचत पनि वृद्धि हुँदै जाने र आवश्यकता पर्दा गज्र्रो टार्न सकिने वा बुढेसकालको सहारा समेत बन्ने उनले सुनाए ।
अहिलेको वित्तीय संकटको अवस्थामा तरलता व्यवस्थापन गर्न मासिक बचत नै महत्वपुर्ण भएको उनको अनुभव छ । संस्थाको कुल कारोबार १ अर्ब २२ करोड पुगेको छ । त्यसको ७ प्रतिशतको हारहारीमा जगेडाकोष रहेको छ । संस्थाले सदस्यहरुलाई आकस्मिक उपचारमा सहयोग पुर्याउँदै आएको छ भने सामूदायिक विकासमा पनि संस्थाले सहयोग गर्दै आएको छ । बैतेश्वर अस्पतालमा सदस्यले उपचार गराउँदा १० प्रतिशत छुटको व्यवस्था मिलाएको छ । विद्यार्थीहरुलाई छात्रवृति देखि सदस्यलाई सामाजिक सुरक्षा वापत विभिन्न सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ । सदस्यको मृत्यु हुँदा ५ हजार आश्रित परिवारका सदस्यलाई प्रदान गर्दै आएको छ । शुरुवाती सदस्यले ५२ हजारसम्म विभिन्न सुविधावापत पाउने गरेको संस्थाले जनाएको छ । शहरी क्षेत्रमा सहकारीले मुल्य, मान्यता र सिद्धान्तबाहिर गएर उदेश्य भन्दा बाहिर काम गर्दा सहकारीमा समस्या आएको र सदस्यको विश्वास घट्दै गएको उनले जनाए । ‘शहरी क्षेत्रका सहकारीले मासिक बचत भन्दा पनि सदस्यबाट मुद्दती र ऐच्छिक बचत बढी लिएकाले समस्यामा परेका हुन्’, उनले भने ‘सदस्य धेरै नहुने र एउटै सदस्यबाट ठुलो बचत लिदाँ समस्या आएको हो ।’ दोलखाका सहकारीमा अहिलेसम्म तरलता समस्या नआएको र आर्थिक क्रियाकलाप पनि ठुलो नभएकाले ससानो ऋणको माग हुने गरेको उनले जानकारी दिए । जिल्लामा अहिलेसम्म बचत नै फिर्ता गर्न नसक्ने अवस्था कुनै संस्थामा नआएको र सदस्यले ऋण मागेको खण्डमा आवश्यकता अनुसार ऋण पनि लगानी गर्दै आएको व्यवस्थापक मिजारको भनाई छ ।
संस्थामा आवद्ध भएका सदस्यहरुको जिवनस्तरमा पनि ठुलो परिवर्तन आएको उनी बताउँछन् । संस्थाकै कारण नाङ्लो पसलबाट ठुलो पसल गर्न सकेका र झुप्रोबाट पक्कि घर बनाएर बस्न सक्ने अवस्थामा सदस्य पुगेका छन् । संस्थाले व्यवसायिक कृषिमा लगानी गरी धेरै सदस्यलाई सफल कृषक बनाएको छ । त्यसैगरी वैदेशिक रोजगारमा जानेहरुलाई सहज रुपमा ऋण लगानी गरि उनीहरुको जिवनस्तर बदल्न सघाएको छ । संस्थाले ऋण लगानीको लागि पहिलो प्राथमिकता व्यापार व्यवसायलाई नै दिएको छ । संख्यात्मक हिसाबले भने संस्थाले कृषकहरुलाई लगानी गरेको छ । एउटा भैंसी किन्न एक लाख चाहिन्छ, एउटा बाख्रा किन्न २०÷३० हजार चाहिन्छ । त्यस्ता हजारौं सदस्यलाई संस्थाले ऋण लगानी गरेको छ । रकमको हिसावले व्यवसायमा बढी लगानी गरेको भए पनि संख्याको हिसाबले कृषिमा लगानी रहेको उनले सुनाए ।
संस्थाले बैतेश्वर गाउँपालिका, साविक जुँगु, ठुलो पातल र भिमेश्वर नगरपालिकामा सदस्य विस्तार गरि कारोबार गर्दै आएको छ । कार्यक्षेत्र बढाएर ठुलो संस्था बनाउने भन्दा पनि गुणस्तरिय संस्था निमार्ण गरी सदस्यलाई प्रभावकारी सेवा दिने लक्ष्य रहेको उनले जानकारी दिए । सहकारीले कृषिमा लगानी गर्न सक्ने र संस्थाले व्यवसायिक कृषि आलु खेती, गाई तथा भैंसी पालन गर्ने सदस्यलाई अन्य ऋण भन्दा २ प्रतिशत सस्तो व्याजदरमा ऋण प्रवाह गर्दै आएको छ।
संस्थाले एबोमा समुहमार्फत व्यवसायिक आलु खेती र गाई पालनमा ऋण लगानी गरिसकेको छ । स्थानिय सरकारले बजारको सुनिश्चितता गरिदिने हो भने सहकारीमार्फत उत्पादन बढाउने सकिने उनको विश्वास छ । उत्पादित वस्तुको बजारिकरण नै अहिलेको मुल समस्या हो, उनले भने ‘बचत ऋण सहकारीले बहुउदेश्यीय सहकारीले जस्तै सबै काम गर्न मिल्दैन, बचत ऋण पहिलो काम हो । संस्थाले सदस्य माझ ऋण लगानी गरेर उत्पादन गर्ने हो । राज्यले बजारको व्यवस्था गरिदिए उत्पादन गर्न सक्ने सम्भावना धेरै छ ।’ अहिले जताततै बाँझा जमिन धेरै भएको र सरकारले सहयोग गरे उत्पादनमा लगानी बढाउन सकिने उनले बताए ।
बैंक तथा वित्तीय संस्थालाई त ठुलो ऋण असुलीमा समस्या छ भने सहकारीलाई त्यो समस्या नहुने कुरै भएन । मिजार भन्छन् ‘आर्थिक मन्दीका कारण व्यापारव्यवसाय ठप्प छ । ठेक्कापट्टा गरिरहेकाहरुको काम चल्न सकेको छैन । यसले केहि ठुला ऋण असुलीमा समस्या परेको छ ।’ किसानले लगेको ऋण र खुद्रा व्यापारमा गएको ऋणमा भने कुनै समस्या छैन । सानो कारोबार गर्ने भन्दा पनि सहकारीबाट ठुलो ऋण लैजाने र समय नतिर्ने सदस्यको हकमा गाउँपालिकाले समेत उठाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले जानकारी दिए । सहकारीका सदस्यको बचत सुरक्षाको लागि गाँउपालिकाले सहयोग गरिदिने कुराले सहकारीहरुलाई ठूलो राहत मिलेको उनको भनाई छ । बैंक र लघुवित्तको ऋणसमयमा चुक्ता गरेपनि सहकारीको ऋण चुक्ता गर्न सदस्यले आलटाल गर्ने गरेको उनले जनाए । तिर्न सकेपनि बैंकको ऋणलाई पहिलो प्राथमिकता दिने र सहकारीको ऋण लिर्न भने आलटाल गर्ने सदस्यहरुका कारण सहकारीहरुमा केहि समस्या देखिएको उनको अनुभव छ । स्थानिय सरकारले सहकारी शाखा स्थापना गरी कर्मचारीको व्यवस्थापन गरेर गाँउपालिका भित्रका सहकारीको नियमन गर्ने कुरा आएको छ, यो विषय सकारात्मक भएको उनको भनाई छ ।