भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले १९ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ । “सहकारी संस्थामा तरलता व्यवस्थापनको स्थिति र समाधानको उपाय” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कूनका . अध्यक्ष परितोष पौड्यालले कार्यक्रमको उद्घाटन गर्दै वर्तमान अवस्थामा जटिल विषय नै तरलता व्यवस्थापन रहेको बताए । सहकारी संस्थाहरुले ऐन विपरित घर जग्गा र शेयरमा लगानी गर्नाले अहिलेको समस्या आएको उनको भनाई छ । त्यसैगरी सहकारीका संचालक आफै स्वनियम र आचारसंहितामा नबस्दा तरलता संकट आएको उनको दावी छ । संस्थाको छवि कायम राख्न सदस्यको विश्वास, सुशासन, पारदर्शीता, जवाफदेही जस्ता तत्वहरुको परिपालना गर्दै सहकारी मूल्य, मान्यताहरु पालना गर्नुपर्नेमा उनले जोड दिए । सहकारी संस्थाहरु प्रविधि मैत्री हुनुपर्ने तर हरेक संस्थामा छुट्टाछुट्टै सफ्टवेयर प्रयोग भइरहेको छ । एकीकृत प्रविधिको अभावमा सहकरीले ठुलो धनराशी प्रविधिकै लागि खर्च भइरहेको उनको भनाई छ । भक्तपुरका सहकारी संस्थाहरुले चुनौतीको बीचमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको अध्यक्ष पौड्यालले बताए ।
त्यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले सहकारी संस्थामा आइपर्ने विकृतिलाई चिर्नको लागि नै संघको स्थापना भएको बताउँदै नेफ्स्कूनले स्थापनाकालिन मूल्य, मान्यतालाई परिपालना गर्दै अन्तर लगानीलाई मात्र जोड नदिई सदस्यको क्षमता अभिवृद्धि हुने कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए । कार्यक्रमको सभापति संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले हालको सहकारीको विकृतीलाई चिर्न स्वनियम, विनियम अनुसार चल्नुपर्ने र सहकारी अभियान मजबुट बनाउन छाता संघहरुको साथ साथै प्रारम्भिक संस्थाहरु पनि एकजुट हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष लाखाजुले सहकारी ऐन कानुन अनुसार सहकारी संचालन हुँदा हुँदै पनि वाह्य कारणले संस्थामा तरलता संकट आएमा संघ र संघमा आवद्ध सम्पूर्ण प्रारम्भिक संस्थाले साथ दिने जानकारी दिए । संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिदैं सहकारी संस्थाले सहकारी सिद्धान्तलाई पालना गर्नुपर्ने र अभियानले सहीलाई सही र गलत कुरालाई गलत नै छ भनेर भन्नुपर्छ अनि मात्र समस्या समाधान हुने विचार राखे । कार्यक्रमको संचालन संघका सचिव जगनाथ प्रजापतिले गरेका थिए भने “सहकारी संस्थामा तरलता व्यवस्थापनको स्थिति र समाधानको उपाय” विषयमा राष्ट्रिय सहकारी बैंकका अधिकृत बल्लभ तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा संघमा आबद्ध संस्थाहरुबाट १७१ जनाको उपस्थिति रहेको थियो ।