मंगलबार, कार्तिक ११ गते २०८३

कान्तिपुर र गौतम श्री सहकारीले फिर्ता गरे सदस्यको एक अर्ब ४० करोड बचत 

बैशाख १८, २०८० सोमबार
कान्तिपुर र गौतम श्री सहकारीले फिर्ता गरे सदस्यको एक अर्ब ४० करोड बचत 


काठमाडौंका  दुई ठुल्ला सहकारी संस्थाले सदस्यको एक अर्ब ४० करोड बचत फिर्ता गरेका छन् । सहकारी विभागले दिएको जानकारी अनुसार मिनभवनमा केन्द्रिय कार्यालय रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिटको अपरेटिभ लि  र कुलेश्वरमा रहेको गौतम श्री बहुउदेश्यीय सहकारी संस्थाले सदस्यको बचत क्रमश फिर्ता गर्दै गएका हुन् । विभागका रजिष्ट्रार नवराज घिमिरेले हालसम्म कान्तिपुर सेभिङले ६५ करोड र गौतम श्री बहुउदेश्यीय सहकारीले ७५ करोड बचत फिर्ता गरिसकेको बताए ।

दुबै संस्थालाई विभागले बचत फिर्ताको प्लान माग गरेको थियो र सोही अनुरुप संस्थाहरुले बचत फिर्ता गर्दै गएको उनको भनाई छ । विभागले सदस्यलाई बचत फिर्ता गरेको हो कि होईन भनेर जाँच समेत गरेको छ । ती संस्थाले बचत फिर्ता गरेका सदस्यहरुसँग सम्र्पक गरेर बुझ्दा उनीहरुले बचत फिर्ता पाएको जानकारी दिइएको रजिष्ट्रार घिमिरेले बताए । कतिपय सदस्यलाई जग्गा, कतिपय सदस्यलाई नगद तथा कतिपय सदस्यलाई ऋण मिलान गरेर ती सहकारी संस्थाले बचत फिर्ता गर्दै आएका  छन् । दुवै संस्थाले चालु आर्थिक वर्षको शुरुवातसँगै अर्थतन्त्रमा आएको मन्दीका कारण देखाउँदै सदस्यको बचत फिर्ता गर्न छोडेका थिए ।

गौतमश्रीका अध्यक्ष सूचना प्रकाशित गरेर सदस्यको बचत फिर्ता गर्न नसक्ने भन्दै केहि समयका लागि नेपाल बाहिर गएका थिए । गौतमश्री जस्तो पुरानो र ठुलो संस्था नै वित्तीय संकट परेपछि त्यसको नकारात्मक असर सहकारी क्षेत्रमा परेको थियो । त्यसपछि उपत्यकाका सहकारीमा सदस्यहरु बचत फिर्ताको लागि लाम नै लाग्न थालेकाे थियाे । जसकारण धेरै संस्थाहरुलाई तरलता व्यवस्थापनमा समस्या परेको थियो । गौतमश्री सहकारीले सदस्यबाट ५ अर्बको हारहारीमा बचत संकलन गरेको पाइएको छ । त्यसैगरी कान्तिपुर सहकारी पनि उपत्यकामा पुरानो र ठुलो संस्थाका रुपमा चिनिन्छ । संस्थाको उपत्यकासँगै विभिन्न ठाउँमा १७ वटा सेवा केन्द्र रहेका छन । उक्त संस्थाले पनि सदस्यबाट ४ अर्ब भन्दा बढी बचत संकलन गरेको थियो । विभागको समन्वयमा ती संस्थाले अहिले सदस्यको बचत फिर्ता गर्दै आएका छन् ।