सहकारी विभागले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरूलाइ केहि समय धैर्य गर्न आव्हान गरेको छ । विभागले आज एक पत्रकार सम्मेलन आयोजना गरी शिवशिखर सहकारी र उसले खडा गरेका भगिनी संस्था मातहत पर्याप्त अचल सम्पत्ति रहेको र त्यसको व्यवस्थापन गरी सदस्यको बचत फिर्ताको सम्भावना रहेकाले केहि समय पर्खन विभागले आव्हान गरेको हो ।
विभागका रजिष्ट्रार नवराज घिमिरेले शिवशिखरले खडा गरेको कम्पनी र त्यसका मातहतका संस्थामा पर्याप्त सम्पत्ति रहेको देखिएकाले चित्तबुझ्दो योजना आए केहि समय दिएर सदस्यहरूको बचत फिर्ता गर्न लगाउने बताए । चित्तबुझ्दो र समयमा दायित्व फरफारक गर्नबाट पञ्छिए प्रचलित ऐनकानुन अनुसार कारवाही अगाडि बढाउने समेत उनले जानकारी दिए ।
संस्थाको वर्तमान सञ्चालक समिति र व्यवस्थापनले भन्दापनि निवर्तमान अध्यक्ष केदारनाथ शर्मा र उनकी श्रीमति गीता शर्माले संस्थाको बचत आफुखुसी परिचालन गरेको पाइएको छ । संस्थाको गत असार मसान्तसम्म १० अर्ब ५० करोडको वासलात रहेकोमा १ अर्ब ९० करोड रकम सदस्यमाझ ऋृण परिचालन गरेको र बाँकी ८ अर्ब ६० करोड रकम शिवशिखरको भगिनी संस्थामार्फत विभिन्न २१ कम्पनीमा लगानी भएको देखिएको रजिष्ट्रार घिमिरेले बताए । ती कम्पनीको सम्पत्ति र शेयरको लगत हेर्दा १० अर्बको हाराहारीमा पाइएकाले सञ्चालकहरू इमानदार भए सदस्यले बचत फिर्ता पाउने सम्भावना प्रबल रहेको उनले बताए ।
संस्थाका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा हालसम्म विभागको सम्पर्कमा नआएको भएपनि उनकी श्रीमति गीता शर्माले विभागमा उपस्थित भइ आफ्नो एकलौटी तथा कम्पनीहरूको नाममा रहेका चलअचल सम्पत्तिहरू बिक्री गरी बचत फिर्ता गर्न मञ्जुर भएको विभागमा जानकारी गराएकी छिन् । उनले श्रीमान लाइ १० दिनभित्र विभागमा उपस्थित गराइ बचतकर्ताको रकम फिर्तामा आवश्यक सहयोग गर्ने समेत प्रतिवद्धता जनाएकी छिन् ।
निवर्तमान अध्यक्ष शर्मा, वर्तमान सञ्चालक समिति र व्यवस्थापन प्रमुखहरू विभागको सम्पर्कमा आएपछि सिआइबी र अन्य निकायसँग समन्वय गरेर बचतकर्ताको रकम फिर्ता गराउन थप प्रक्रिया अगाडि बढाइने रजिष्ट्रार घिमिरेले जनाए । संस्था सञ्चालकहरूले बचत फिर्ताको प्रतिवद्धता जनाए समस्याग्रस्त घोषणा नगर्न सदस्यहरूले नै माग गरेका छन् ।

