मंगलबार, कार्तिक ११ गते २०८३

मन्थली साकोसको प्राथमिकता: स्वास्थ्य सेवामा सदस्यको पहुँच 

बैशाख १५, २०८० शुक्रबार
मन्थली साकोसको प्राथमिकता: स्वास्थ्य सेवामा सदस्यको पहुँच 


मन्थली बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको स्वास्थ्य सेवामा सहयोग पुर्याउँदै आएको छ । संस्थाले विभिन्न ठाउँमा स्वास्थ्य शिविरको आयोजना गरी सदस्यलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

केहि समय अघि संस्थाले महिला सदस्यको लागि शिविर आयोजना गरी विशेषज्ञबाट स्वास्थ्य जाँच गराएको छ । उक्त शिविरबाट ५ सय भन्दा बढी सदस्यले लाभ लिएको व्यवस्थापक भेष बहादुर श्रेष्ठले बताए । संस्थाले जनरल, दन्त र अन्य स्वास्थ्य सेवा पनि शिविरबाट प्रदान गरेको जनाएको छ । संस्थाले स्वास्थ्य सेवालाई नै पहिलो प्राथमिकतामा राखेको र आँखा शिविर पनि सञ्चालन गरेका उनको भनाई छ । तिलगंगा आँखा अस्पतालले गरेको शिविरमा पनि संस्थाले जाउलो खुवाउने काम गरेको थियो । बाल सदस्यको आँखा जाँच गरेर उनीहरुलाई चश्मा समेत वितरण गरेको थियो । स्थानीय तामाकोशी अस्पतालमा सदस्यले उपचारमा २० प्रतिशत र औषधीमा ५ प्रतिशतसम्म छुट सुविधा पाउने गरेका छन् ।

manthali bal siksha.jpg

संस्थामा १६ हजार सदस्य आवद्ध रहेका छन् । संस्थाले गेलु, रामेछाप, धोबी र साँघुटारमा सेवाकेन्द्र स्थापना गरी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस आर्थिक बर्षबाट संस्थाको कार्यक्षेत्र रामेछाप जिल्ला भरी बनाएको र आगामी आर्थिक बर्षमा सबै स्थानिय तहमा सेवाकेन्द्र सञ्चालन गर्ने योजना रहेको श्रेष्ठले बताए । संस्थाले २५ प्रतिशत माथि तरलता लिएर बसेको र हालको अवस्थामा ऋण लगानी कम गरेको उनले जनाए । संस्थाले अहिले व्यवसायिक भन्दापनि सदस्यको खरखाँचो टार्नको लागि बढीमा २ लाखसम्म ऋण लगानी गर्ने गरेको छ । संस्थामा त्यति धेरै बचत संकलन नआएको र फिर्ता हुने क्रम पनि कमै रहेको उनले सुनाए । संस्थामा आवद्ध प्रत्येक सदस्यले २ सयदेखि ५ हजारसम्म मासिक बचत गर्ने गरेका छन् । संस्थाको कुल कारोवार १ अर्व १७ करोड पुगेको  छ । बचत संकलन ८८ करोड, शेयर पुँजी ११ करोड, जगेडा तथा अन्य कोषमा गरी ११ करोड पुगेको छ । संस्थाले मासिक ,ऐच्छिक र मुद्दती बचत योजना सञ्चालनमा ल्याएको छ ।

व्यापार व्यवसायमा मन्दी आउँदा ऋण असुलीमा भने समस्या आएको उनले बताए । आर्थिक  मन्दीको  प्रत्यक्ष असर सदस्यहरुको व्यवसायमा पर्दा विगत ६ महिनादेखि ऋण असुलीमा समस्या भएको उनले जानकारी दिए । संस्थाले कृषि, व्यापारव्यवसाय, वैदेशिक रोजगार, शैक्षिक र उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गरेको छ । सदस्यहरुले अहिलेसम्म संस्थाप्रति विश्वास गरेको र अप्ठ्यारो पर्दा सदस्यले संस्थालाई जोगाउनुपर्ने उनको भनाई छ । सहकारीले वास्तविक सदस्य बनाउन नसक्दा अहिले वित्तीय संकटका बेला सदस्यबाट सहयोग नमिलेको उनको बुझाई छ । संस्थाले क्लस्टरवाइज रुपमा सहकारी शिक्षा सञ्चालन गर्ने गरेको र  वार्षिकरुपमा २५ प्रतिशत सदस्यलाई सो कार्यक्रममा सहभागी गराउने गरेको छ ।

विस्तारित मञ्च कार्यक्रम माफर्त सहकारीको आवश्यकता र महत्वको बारेमा सदस्यलाई बुझाउने गरेको छ । मन्थली सहकारीले बचत ऋणको साथै सदस्यहरुलाई बीमा सुविधा, जीवन सुरक्षा कोष माफर्त सदस्यको मृत्यु हुँदा २० हजार रुपैया आर्थिक सहयोग र बालबालिकाको लागि बाल साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । सदस्यहरु विपत्मा पर्दा समेत विपत राहत कोष माफर्त आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।