काठमाडौं । सहकारी हकहित राष्ट्रिय समाजले संचालन गरेको सहकारी सम्बन्धी चार दिवसीय तालिम कार्यक्रम आज सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका सहकारी विभागसंग सहकार्य गरेर समाजले बैशाख ११ देखि १४ गते सम्म ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’ विषयक तालिम कार्यक्रम संचालन गरेको हो । तालिममा सहकारी संस्थामा उत्पन्न हुनसक्ने जोखिम, बच्नका लागि अपनाउनुपर्ने पूर्व सावधानी र समाधानका लागि अवलम्बन गर्नुपर्ने रणनीतिबारे विभिन्न विषय विज्ञहरुले प्रशिक्षण दिएका थिए । तालिमको पहिलो दिन संघीय सहकारी विभागका पूर्व रजिष्ट्रार एवं नेपाल सरकारका सहसचिव डा. टोकराज पाण्डेले ‘सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ कार्यान्वयनको अवस्था र सरोकारवाला निकायहरुको भूमिका’ विषयमा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले ‘सहकारीमा जोखिम ब्यवस्थापन’ विषयमा कार्यपत्र सहित प्रशिक्षण दिएका थिए । यसैगरी तालिमको दोश्रो दिन नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले ‘सहकारीका समस्या, चुनौती र समाधानका उपाय’ विषयमा प्रस्तुतिकरण गरेका थिए । साथै उनले सहभागीहरुसँंग सहकारीका समसामयिक समस्याबारे अन्तरक्रिया समेत गरेका थिए ।
तालिमको तेश्रो दिन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व प्रमुख कार्यकारी अधिकृत एवं सहकारी प्रशिक्षक कुबेर निरौलाले ‘सहकारीमा ऋण ब्यवस्थापन तथा कर्जा वर्गिकरण’ विषयमा प्रशिक्षण दिएका थिए ।
यस्तै तालिमको अन्तिम दिन बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का प्रमुख कार्यकारी अधिकृत केशव दाहालले ‘सहकारी संस्थामा संचालक समित र लेखा सुपरीवेक्षण समितिको भूमिका’ विषयमा प्रशिक्षण दिएका थिए ।
तालिम कार्यक्रमा सहभागी सहकारी संस्थाका संचालक, ब्यवस्थापक र कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गर्दै काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक देवेन्द्र प्रसाद पोखरेलले तालिममा सिकेको ज्ञान आफू आवद्ध संस्थामा प्रयोग गर्न आग्रह गरे । उनले अहिले समस्या उत्पन्न भएका धेरै सहकारी संस्थामा ग्राहक र शेयर सदस्य गरी दुई वर्गका सदस्यहरु भेटिएको जानकारी गराए । ‘समस्यामा परेका सहकारीमा ऋण लिने उद्देश्यले मात्र १० कित्ता देखि सय कित्ता सम्म शेयर हाल्ने ग्राहक भेटियो,’उनले भने‘तालिममा सहभागी सहकारीकर्मीहरुले सहकारीका ग्राहक, शेयर सदस्य र समस्या बीचको दुरी कम गर्न अगाडि एक पाईला चाल्नुभयो भने पनि तालिम उपलब्धिमूलक भएको ठहरिने छ ।’
सहकारी संस्थाका संचालक, ब्यवस्थापक र कर्मचारीहरुले सहकारीका सिद्धान्त नबुझेर भन्दा पनि सिद्धान्त प्रतिकुल काम गर्ने नियत राखेकाले सहकारीमा समस्या उत्पन्न भएको उनको गुनासो थियो । सहकारीका समस्या समाधान गर्न सहकारीकर्मी र नियामक निकायबीच नियमित सम्पर्क र सम्वाद आवश्यक रहेको उनको भनाई छ । यस्तै कार्यक्रमका सभापति समेत रहेका सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीले तालिम कार्यक्रम संचालन गर्न सहयोग गर्ने काठमाडौं महानगरपालिका सहकारी विभागलाई विशेष धन्यवाद ज्ञापन गरे । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको सहभागितामा स्थापना भएको समाजले स्थापना कालदेखि सहकारीको प्रवद्र्धनसंग सम्बन्धित विभिन्न तालिम, छलफल, अन्तरक्रिया लगायतका विभिन्न कार्यक्रम संचालन गर्दै आएको उनले बताए । साथै आगामी दिनमा पनि समाजले सहकारीमा सुशासन प्रवद्र्धन र क्षमता अभिवृद्धिसंग सम्बन्धित तालिम कार्यक्रम संचालन गर्नुका साथै नीतिगत सहजीकरणसंग सम्बन्धित गतिविधि समेत गर्ने प्रतिवद्धता व्यक्त गरे । समाजका सचिव ऋषिराम ढकालले संचालन गरेकोे कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष अर्जुन खतिवडाले धन्यवाद मन्तव्य राखेका थिए ।
कार्यक्रममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव दाहाल, नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का अध्यक्ष काजी श्रेष्ठ, सिजेएनका उपाध्यक्ष तुलसी सुवेदी, सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाई, सिजेएनका भूवपूर्व अध्यक्ष डिल्ली सापकोटा, सिजेएनका निवर्तमान अध्यक्ष खिला दाहाल, सिजेएनका सदस्य माधव खड्का लगायतको आतिथ्य रहेको थियो ।
यसैबीच तालिम कार्यक्रको समापन समारोहमा सहभागी सहकारीकर्मीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी निवर्तमान अध्यक्ष सुमित्रा देवी ढकाल र नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक हरी प्रसाद पाण्डेले मन्तव्य राखेका थिए । निवर्तमान अध्यक्ष ढकालले चार दिनको अवधिमा सहकारीका विषयमा धेरै सैद्धान्तिक कुरा सिक्न पाएको अनुभव सुनाए । उनले तालिममा सिकेको सैद्धान्तिक ज्ञान संस्था संचालनको क्रममा उत्पन हुने वा हुनसक्ने जोखिमसंग जुध्नका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनले भने ‘हामीले तालिमबाट सहकारीको सबैभन्दा महत्वपूर्ण अंग भनेका शेयर सदस्यहरु हुन् त्यसैले उनीहरुको विश्वास जित्नका लागि निकटमा रहेर संस्था संचालन गर्नुपर्छ भन्ने कुरा सिकेका छौं ।’ यसैगरी ब्यवस्थापक पाण्डेले तालिम कार्यक्रम उपलब्धिमूलक रहेको प्रतिक्रिया दिए । सहकारी संस्था संचालन गर्दा जोखिम र प्रतिफललाई सन्तुलनमा राख्नुपर्ने उनको भनाई छ । ‘सहकारीले जोखिम लिँदा धेरै प्रतिफल प्राप्त हुन्छ, उनले भने , ‘तर उच्च जोखिम लिँदा प्राप्त भएको प्रतिफल शून्यमा पनि झर्नसक्छ ।’ उनले सहकारी संस्थाले जोखिम शून्य विन्दुमा झार्न नसकेपनि सकेसम्म कम गरेर प्रतिफल आर्जन गर्नतर्फ लाग्नुपर्ने धारणा राखे । ‘संस्थाले जोखिम लिएर प्राप्त गरेको प्रतिफल शेयर सदस्यहरुलाई बाँडचुँड गर्नुपर्छ, उनले भने , ‘यसो गर्दा शेयर सदस्यहरुमा संस्थाले हाम्रै लागि काम गरेको रहेछ । संस्थासंग कारोबार गर्दा हामीलाई फाईदा पुग्ने रहेछ भन्ने महसुस हुन्छ ।’