बैशाख लागेपछि बैंकको ब्याजदर घटाउने निर्णय लागु भएपछि निक्षेप संकलन प्रभावित बनेको छ । व्यवसायी, सरकार लगायत सबै पक्षबाट दबाब आएपछि नेपाल बैंकर्स एसोसिएसनले वैशाखदेखि लागू हुनेगरी निक्षेपमा ब्याजदर घटाएसँगै निक्षेप र कर्जा प्रवाह दुवै निरुत्साहित भएको हो ।
निक्षेपमा ब्याजदर घटाएपछि बचत निरुत्साहित भएको राष्ट्र बैंकले जनाएको छ । वैशाख १ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५४ खर्ब ७६ अर्ब रुपैयाँ रहेकोमा ९ गते ५४ खर्ब ५३ अर्बमा झरेको छ । कुल निक्षेप २३ अर्ब रुपैयाँले घटेको हो ।
वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ११ प्रतिशतबाट घटाएर ९.९९ प्रतिशत कायम गरिएको छ । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारिएको छ ।
बैंकर्स संघले कल डिपोजिटको ब्याजदर पनि २.७ प्रतिशतमा झारेको छ। घटेको ब्याजदर नयाँ ऋणीले तत्काल पाउँछन् भने पुराना ऋणीको हकमा साउनमा पुनरावलोकन हुनेछ ।