भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीले सहकारी व्यवस्थापन समितिले केहि सहकारी संस्थाको दायित्व फरफारक गर्न सकेको भए सहकारीप्रति सदस्यको विश्वास बढ्न सक्ने बताएका छन् । सहकारी हकहित समाज र काठमाडौं महानगर सहकारी विभागको सहकार्यमा आयोजना भएको कार्यक्रममा ‘सहकारीका समस्या, चुनौती र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन ।
‘राज्यले चारपाँच वटा संस्थाको समस्या समाधान गर्न सकेको भए सहकारीप्रति सदस्यको विश्वास बढ्थ्यो’, उनले भने, ‘यदि सहकारी बिग्रियो भने राज्यले व्यवस्थापन गर्छ र हाम्रो बचत फिर्ता पाईन्छ भन्ने विश्वास सदस्यमा जाग्रित हुन्थ्यो ।’
‘पालिकाका कर्मचारीले सहकारी नै बुझेका छैनन्, कसरी अनुगमन गर्न सक्छन्,’ उनले थपे , ‘संघीय सरकारले ध्यान दिएर काम गर्नुपथ्र्यो, तर त्यो गर्ने सामथ्र्य नै राखेन । स्थानिय र प्रदेश सरकारले संघलाई टेरेनन् ।’ संघ, प्रदेश र स्थानिय सरकार बुबा र छोरीछोरी जस्तै भएको भन्दै उनले एक आपसमा सहकार्य र सामञ्जस्य गर्नुपर्ने औंल्याए । यहाँ त मेरो नियमन क्षेत्र भित्रको सहकारीको म आफैँ नियमन गर्छु, संघ र प्रदेशबाट किन नियमन गर्न आउनु पर्यो भन्ने कुराले झन् समस्या थपिएको मैनाली उल्लेख गरे । तीन तहबीच सहकार्य र सामथ्र्य विकास गरेको भए सहकारीमा यस्तो समस्या नआउने उनको भनाई छ ।
सहकारीमा स्वनियमन भनेपनि सदस्यले मात्र त्यसको नियमन गर्न सकेनन् । सञ्चालकहरु पनि त्यसमा बस्न रुचाएनन्, यसले पनि समस्या बढाएको उनको भनाई छ । ७३ लाख जनता सहकारीमा आवद्ध हुनु राम्रो पक्ष भएको उनको भनाई छ । सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघले हरेक ३ महिनामा ठूला सहकारीको नियमन तथा अनुगमन गर्न सके सहकारी क्षेत्रलाई सुधार गर्न सकिने उनको तर्क छ । सहकारीमा समस्या आएको र एकले अर्कालाई दोष लगाएर समस्या समाधान नहुने भएकाले अभियान र राज्य मिलेर जानुको विकल्प नरहेको मैनालीले बताए ।
काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक देवेन्द्र पोखरेलले सहकारी संस्थाका संचालक, सहकारी अभियन्ता, शेयर सदस्य र नियामक निकाय सबै पक्ष आफ्नो जिम्मेवारी बहन गर्ने कार्यमा चुकेकाले सहकारीमा समस्या उत्पन्न भएको बताए । सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि आगामी दिनमा सरोकारवाला सबै पक्षले आत्मसमीक्षा गरेर कदम चाल्ने हो भने सकारात्मक परिणाम निस्कने उनको भनाई छ ।
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का अध्यक्ष एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का कोषाध्यक्ष दिपक पनेरुले केही नराम्रा सहकारीले गरेको बदमासीका कारण सिंगो सहकारी अभियानको शीर निहुरिएको बताए ।
काठमाडौं जिल्ला भित्र हजारौं सहकारीले राम्रो काम गरिरहेको भएपनि केही नराम्रा सहकारीले गरेको गलत कामको असर अन्य सहकारीमा परेका उनको गुनासो थियो । ‘सबै सहकारीलाई एउटै दृष्टिकोणबाट हेर्न हुँदैन,’ सहकारीमा देखिएका समस्या समाधान गर्न सबै पक्षबीच सहकार्यको आवश्यकता औंल्याउँदै उनले भने, ‘यहाँ गल्ती गर्ने सहकारीलाई गलत भन्न पाईंदैन । गलत काम गर्ने सहकारीलाई गलत भनौं । राम्रा काम गर्ने सहकारीलाई संरक्षण र प्रवद्र्धन गरौं ।’
अध्यक्ष पनेरुले मुलुकमा सांसद, मन्त्री, प्रोफेसर, ईन्जिनियर लगायतका विभिन्न पेशा, ब्यवसाय र जिम्मेवारीमा गरेका व्यक्तिहरुले घरजग्गाको कारोबार गरेर देखेर केही सहकारी संस्थाका संचालकहरु पनि घरजग्गाको कारोबार गर्ने नशामा लागेकाले सहकारीमा समस्या उत्पन्न भएको बताए । यस्ता सहकारीका सदस्यहरुले ठूलो मात्रामा बचत फिर्ता माग्न थालेपछि त्यसको असर अन्य सहकारीमा पनि परेको उनको भनाई छ । अध्यक्ष पनेरुले सहकारी संस्थाका संचालकहरुलाई समस्या पहिचान गरेर सुधारका लागि प्रभावकारी योजना तर्जुमा गरेर लागू गर्न आग्रह गरे ।
‘सहकारीलाई अप्ठ्यारो बेलामा सदस्यले काँध थाप्नुपर्छ । संस्थालाई विश्वास गर्नुपर्छ । हिजो दशतिर भौंतारिँदा पनि ऋण नपाउँदा सहकारीले सहयोग गरेको थियो । हिजो सहकारीले विश्वास गरेर सारा ब्यवहार फुकाईदिएको थियो । उसको वित्तीय आवश्यकता पुरा गरिरिदिएर समाजमा हिँड्न सक्ने बनाईदिएको थियो ।’ उनले प्रश्न गरे, ‘अहिले आएर उसले हल्लाका पछाडि लागेर शंकाको भरमा सहकारीबाट पैसा निकालेर लान मिल्छ ? यस्ता सदस्य पनि अपराधी हुन् ।’
यस्तै, जिल्ला सहकारी संघ, काठमाडौंका सचिव बालकुमार बास्तोलाले काठमाडौं महानगरपालिकाले सहकारीलाई प्राथमिकतामा राखेको बताए । यसैगरी जिल्ला सहकारी संघ, काठमाडौंका संचालक हेम कार्कीले मानिसको जीवनमा सिकाई प्रकृया मृत्युपर्यन्त निरन्तर चलिरहने उल्लेख गर्दै तालिम कार्यक्रममले सहकारीकर्मीहरुको ज्ञानमा नवीनता ल्याउन सहयोग पुग्ने बताए । तालिमको पहिलो दिन संघीय सहकारी विभागका पूर्व रजिष्ट्रार डा. टोकराज पाण्डेले ‘सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ कार्यान्वयको अवस्था र सरोकारवाला निकायको भूमिका’ विषयमा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’ विषयमा कार्यपत्र सहित प्रशिक्षण दिएका थिए । तालिम ४ दिन सम्म चल्ने छ ।