लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाको वित्तीय अवस्था बलियो बन्दै गएको छ । विगतको तुलनामा संस्थाको बचतमा समेत वृद्धि हुँदै गएको व्यवस्थापक रविन सुनारले बताए ।
संस्थामा यस आर्थिक बर्षको चैत्र मसान्तसम्म आइपुग्दा तरलता बढेर १७.२८ प्रतिशत पुगेको उनले जानकारी दिए । त्यस अवधिमा संस्थाको वासलात १३ करोड ७७ लाख भन्दा माथि पुगेको छ । संस्थाप्रति सदस्यको विश्वास पहिले झैं कायम रहेको र पौष मसान्तको तुलनामा कारोबारमा समेत वृद्धि भएको उनको भनाई छ।
‘संस्थाप्रति सदस्यको विश्वास रहुञ्जेलसम्म बाहिरी कुराले खासै प्रभाव पार्दैन’, उनले भने ‘ संस्था नीति, विधि र प्रविधिमा आधारित भएर सञ्चालन हुनुपर्छ । तब संस्थाप्रति सदस्यको विश्वास निरन्तर रहिरहन्छ ।’ आफुहरु समुदायमा स्थापित भएका संस्थाहरुको असल अभ्यासलाइ अनुशरण गर्दै अगाडि बढेको र भविष्यमा उत्कृष्ट संस्था बनाउने लक्ष्य रहेको उनले सुनाए ।
गत कातिक महिनादेखि पुषसम्म संस्थालाई तरलता व्यवस्थापनमा चाप परेको भएपनि हाल अवस्था सहज बन्दै गएको उनले बताए । ३ महिनाको अवधिमा संस्थामा बचत वृद्धि हुनुका साथै यसले तरलता व्यवस्थापनमा सहज भएको उनको भनाई छ । पुस मसान्तको तुलनामा चैत्र मसान्तसम्म आईपुग्दा बचत संकलनमा १२ प्रतिशतले बृद्धि भएको छ । संस्थालाई साना किसान वित्तीय संस्थाले पनि सहुलियत दरको ऋण प्रदान गरेको छ । संस्थाले साना किसानबाट ३ करोडको हाराहारीमा ऋण लिएको छ । ५ प्रतिशतमा ल्याएको सहुलियत ऋण ९ प्रतिशत र ६ प्रतिशतमा ल्याएको ऋण १० प्रतिशतमा लगानी गर्ने गरेको उनले बताए ।
संस्थाले उक्त ऋणलाई पशुपालन, मासु र दुग्ध उत्पादनमा लगानी गर्ने गरेको छ । संस्थाले चाहेर मात्र उत्पादन नबढ्ने रहेछ, उनले भने, ‘सदस्य पनि उत्पादनमा जान तत्पर हुनुपर्छ र त्यसका लागि स्थानिय सरकारले पनि सहयोग गर्नुपर्छ ।’ बलेफी गाँउपालिकाले स्थानिय बासिन्दालाई उद्यम गर्न आवश्यक तालिम प्रदान गर्ने र व्यवसाय गर्न आवश्यक पर्ने ऋण सहकारी संस्थाले सहुलियत दरमा प्रदान गर्ने सहमति भएको छ । संस्थाले १५/१६ प्रतिशतमा ऋण दिँदै आएको र गाँउपालिकाले २ प्रतिशत अनुदान दिए उत्पादनमा लाग्ने सदस्य लाभान्वित हुने उनको भनाई छ । कृषि कार्यक्रम अन्तर्गत गाँउपालिकाले उक्त ऋण दिन सक्ने र स्थानिय सरकार र सहकारी मिलेर काम गरे उत्पानदमा वृद्धि गर्न सकिने उनको भनाई छ । सदस्यमा उद्यमशीलतामा जाने इच्छा भए सहकारीले उनीहरुलाई सहज रुपमा ऋण प्रदान गर्न सकिने उनले जनाए ।
संस्थाले उत्पादनमुलक, वैदेशिक रोजगार र अध्ययनमा जाने सदस्यहरुलाई ऋण प्रवाह गर्दै आएको छ । संस्थामा अहिले वैदेशिक शिक्षा र रोजगारमा जान चाहनेहरुबाट बढी ऋणको माग आएको र १२ जनालाई उक्त शिषर्कमा ऋण लगानी गरिएको छ । संस्थाले उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्न चाहे पनि सदस्यहरुबाट बैदेशिक ऋणको माग धेरै आएको उनले जानकारी दिए । संस्थाले प्रतिव्यक्ति १० लाखसम्म ऋण लगानी गर्दै आएको छ । वैदेशिक रोजगारमा जानेहरुको लागतको आधारमा ३ लाखदेखि बढीमा १० लाखसम्म ऋण लगानी गरेको संस्थाले जनाएको छ । वैदेशिक रोजगारीमा गएकाकारण गाँउमा युवाहरु रित्तिएको उनले सुनाए । संस्थामा २५ सय ८५ शेयर सदस्य र ४९६ बालबचतकर्ता रहेका छन् ।
संस्थाले मासिक बचतलाई नियमित गरेको र ६ महिनासम्म पनि मासिक बचतमा सहभागी नहुने सदस्यहरुको रकम दायित्व खातामा राखेर सदस्यता खारेजीसम्म गर्ने उनले बताए । निष्कृय सदस्य अब संस्थाले नराख्ने योजना बनाएको छ । सदस्यले मासिक बचत अनिवार्य गर्नु पर्ने र हरेक २ बर्षमा १ सय थप गर्दै जानु पर्ने नीति लिएको छ । ५ सय मासिक बचत गर्ने सदस्यले १० बर्षपछि १ हजार बचत गर्नुपर्ने हुन्छ । संस्थाका ३ जना कर्मचारीले विन्धवासिनी साकोसमा गएर लघुवित्त सञ्चालन सम्बन्धी ६ दिने तालिम लिएर आएको र त्यसपछि संस्थाले आफ्नै नीति बनाएर अहिले २४ वटा समुह मार्फत लघुवित्त कार्यक्रम सञ्चालनमा ल्याएको छ । अहिले २/३ सय मासिक बचत गर्न सदस्य कार्यालयसम्म नआउने भएकाले समुहमार्फत मासिक रुपमा बचत संकलन गर्दै आएको उनको भनाई छ । संस्थाले समुहमार्फत मासिक बचत संकलन गर्ने र यो प्रभावकारी पनि हुने उनले जनाए ।
व्यवसाय राम्रोसँग सञ्चालन भएका सदस्यबाट ऋण असुलीमा कुनै समस्या नभएको र व्यवसाय संकटमा परेका सदस्यबाट भने ऋण असुलीमा कमी आएको छ । ऋण तिर्न नसकेका सदस्यहरुलाई मानासिक तनाव दिनु भन्दापनि संस्थाले सहजिकरण गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले जस्तै गरी ३५ दिने सूचना निकालेर सदस्यको सम्पत्ति लिलाम गर्ने भन्दा पनि सदस्यसँग प्रत्यक्ष भेटघाट गरेर उनीहरुको व्यवसाय संकटमा पर्नुको कारण बुझ्ने र मार्गप्रशस्त गर्ने काम संस्थाले गर्दै आएको छ । संस्थाले सदस्यको मनोभावना बुझेर सेवा दिनसके संस्थाप्रति सदस्यको विश्वास कायम रहने उनको बुझाई छ । केहि व्यक्तिले सहकारीलाई डुबाउन अनेकन प्रपञ्च रचेको भए पनि त्यसमा सफल हुन नसकेको उनको बुझाई छ । संस्थाले बलेफी गाँउपालिका, सुनकोशी गाँउपालिकाको ६ र ७ वडा , त्रिपुरासुन्दरी गाँउपालिकाको ५ र ६ वडा तथा बाह्रबिसे नगरपालिकाको केहि वडालाई कार्यक्षेत्र बनाएर सेवा दिइरहेकोछ । संस्थाले यस अघि नै टेकानपुरमा सेवाकेन्द्र विस्तार गरी सदस्यलाई सहज रुपमा वितीय सेवा प्रदान गर्दै आएको छ ।
जिल्लामा रहेका सहकारीले अहिलेसम्म सदस्यको बचत फिर्ता गर्न नसकेको कुनै गुनासो नआएको पनि उनले बताए ।