मंगलबार, कार्तिक ११ गते २०८३

संरक्षित पूँजी फिर्ता कोष परिचालनले सदस्यलाई सक्रिय बनाउँछः जिसी

बैशाख १०, २०८० आइतबार
संरक्षित पूँजी फिर्ता कोष परिचालनले सदस्यलाई सक्रिय बनाउँछः जिसी

सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गर्ने वातावरण सिर्जना गर्नका लागि संरक्षित पूँजी फिर्ता कोषलाई परिचालन गर्नु पर्नेमा राष्ट्रिय सहकारी बैंकका संचालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले जोड दिएका छन् ।

शुक्रबार आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङले आयोजना गरेको ‘संरक्षित पूँजी फिर्ता कोष’ सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै जिसीले कारोबारका आधारमा अतिरिक्त रकम पाइन्छ भन्ने कुरा सदस्यहरुलाई राम्रोसंग बुझाउन सकेमा सदस्यहरुले सहकारी संस्थामा सक्रिय भएर कारोबार गर्ने बताएका हुन् । ‘धेरै वटा सहकारीमा शेयर खरिद गर्ने । कारोबार केही पनि नगर्ने । सहकारीको सारो गारोमा कहिल्यै साथ नदिने अनि आर्थिक वर्षको अन्त्यमा कति नाफा भयो भन्ने सदस्यहरु र संस्थामा नियमित रुपमा कारोबार गर्ने । सस्थाको उन्नति प्रगतिमा सदैव सहयोग गर्ने शेयर सदस्यलाई मुनाफाका नाममा एकै प्रकारको फाइदा हुने अवस्थाको अन्त्यका लागि सहकारी ऐनमा नै संरक्षित पूँजिफिर्ता कोषको व्यवस्था भएको हो’, उनले भने ।

सहकारीका सक्रिय सदस्यहरु जसले बढी कारोबार गर्छन् उनीहरुलाई बढी रकम दिन सकेमा सहकारीका सदस्यहरुको कारोबार सहकारीमा केन्द्रीत हुने जिसीले बताए । सहकारीमा पछिल्लो समयमा देखिएका समस्याहरुका बारेमा चर्चा गर्दै जिसीले सञ्चालक, शेयर सदस्य र कर्मचारीले जिम्मेवारीपूर्वक कर्तव्य पूरा गरे कुनै पनि सहकारीमा समस्या नहुने बताए ।

पछ्रिल्लो समय केही सहकारीमा समस्या देखिन थालेको छ, मुलुकमा आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय क्षेत्रमा समस्या पर्न थालेको भन्दै यसको समाधानका लागि शेयर सदस्य र संचालकलाई बढी मेहेनत गर्न उनले सुझाव दिए ।

बजारमा सहकारी क्षेत्रलाई समाप्त पार्न अनेक तत्व लागेको भन्दै शेयर सदस्यहरु आत्तिन नहुने उनको भनाई छ । जिसीले भने, “मुलुकमा आर्थिक मन्दी छ, तरलता अभाव छ, यसले सबै वित्तीय क्षेत्रमा प्रभाव परेको छ, यसको समस्या समाधान हुन्छ, समाधान गर्नका लागि अभियानका तर्फबाट सक्दो पहल गर्छौं, पहिले जसरी कारोबार गरि राख्नु भएको थियो, सबैले सोही अनुसार गर्नु, अहिले सहकारी क्षेत्रमाथि आक्रमण भइरहेको छ, यसको सामना गर्न हामी तयार हुनु पर्छ ।”

कार्यक्रममा आदर्श संचार सहकारी संस्थाका सल्लाहकार डिलबहादुर कार्कीले सहकारीलाई बलियो बनाउन शेयर सदस्यको महत्वपूर्ण भूमिका हुने बताए । शेयर सदस्य नै विचलित भए संस्था कमजोर हुँदै जाने भन्दै अहिले बजारमा चलेको हल्लाको पछि नलाग्न आग्रह गर्नु गरे ।

आदर्श संचार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले शेयर सदस्यलाई भ्रामक प्रचार र झुटा समाचारको पछि नलाग्न आग्रह गरिन् । उनले सहकारीमा आउने जतिसुकै समस्यालाई पनि शेयर सदस्यहरुको सक्रियताबाट समाधान गरिने बताए । शेयर सदस्य, बचत कर्तालाई ढुक्क भएर कारोबार गर्न आग्रह समेत गरिन् ।