बर्दिया । सिको बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा ‘उद्यमशीलता मार्फत जीवन परिवर्तन’ प्रथम सिको महिला जीविकोपार्जन क्लब सम्मेलन २०७९ सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहकारी अभियन्ता राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओम देवी मल्ल रहेकी थिइन् ।
राजापुर नगरपालिका उपप्रमुख मनकला चौधरीको विशिष्ट आतिथ्यता साथै जिल्ला बचत तथा ऋण सहकारी संघ बर्दियाका अध्यक्ष नवराज न्यौपाने लगायतका व्यक्तिहरूको आतिथ्यता रहेको उक्त कार्यक्रममा सामाजिक अभियन्ता, पत्रकार तथा उत्प्रेरक वक्ता बबिता बस्नेतले उद्यमशिलता र जीवन परिवर्तन विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै महिलाहरुलाई कसरी उद्यमशील बन्ने भन्ने विषयमा उत्प्रेरणा प्रदान गरेकी थिइन् ।
कार्यक्रमका अधिकांश वक्ताले महिला दिदिबहिनीहरुले आफ्नो जीवनस्तर माथि उकास्नका लागि अब आफ्नै कमाइमध्ये केहि अंश नियमित बचत गर्नुपर्ने बताए । त्यसैगरी घरायसी काममा मात्र सीमित नभएर केही न केही सिप सिकेर उद्यमशील बन्नुपर्ने र त्यसका लागि सहकारीसँग सहकार्य गर्नुपर्ने उनीहरूले सुझाए ।
संस्थाले हालसम्म विभिन्न ११९ वटा सिको जिविकोपार्जन क्लबहरू गठन गरेर महिला सशक्तिकरणका साथै महिलाहरूलाइ विभिन्न सिप सिकाएर उद्यमी तथा नेतृत्व लिन सक्ने बनाउन लागिपरेको संस्थाका अध्यक्ष दामोदर अधिकारीले जनाए ।
नववर्ष २०८० लाई विशेष पर्व मानेर विविध साँस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न भएको यस कार्यक्रममा विभिन्न शीर्षकका बचतमा रु। ३१ लाख १५ हजार संकलन भएको व्यवस्थापक भोविन्द्र बहादुर सुनारले जानकारी दिए ।
विभिन्न जिविकोपार्जन क्लबका अध्यक्ष, सचिव तथा सदस्यहरू, संस्थासँग सम्बन्धित समिती, उपसमितिका पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापनका कर्मचारी लगायत गरी करिब १००० जनाको उपस्थिति रहेको कार्यक्रमका संस्थाको तर्फबाट वरिष्ठ उपाध्यक्ष उदय बहादुर खत्रीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन महासचिव प्रकाश कुमार आचार्यले गरेका थिए।