मंगलबार, कार्तिक ११ गते २०८३

जग्गा खरिद गर्न भक्तपुर बचत संघले गर्‍यो विशेष साधारण सभा

चैत्र २९, २०७९ बुधबार
जग्गा खरिद गर्न भक्तपुर बचत संघले गर्‍यो विशेष साधारण सभा


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले दोस्रो पटक विशेष साधारण सभा गरेको छ । संघको भवनसँगै जोडिएको जग्गा संघको बहुउद्देश्यीय प्रयोजनका लागि उपयुक्त हुने भएकोले त्यसको खरिद सम्बन्धी स्वीकृति लिन गर्न संघले विशेष साधारण सभा गरेको हो ।

संघका अध्यक्ष एवम् सभाका सभापति कृष्णगोविन्द लाखाजुले संघको स्थायित्व, दिगो विकासको लागि पार्किङ्ग लगायतका लागि अति उपयोगी हुने भएकोले र सो जग्गा विक्रीमा समेत रहेको जानकारी प्राप्त भएकोले जग्गा खरिद प्रयोजनका लागि विशेष साधारण सभाको आयोजना गरिएको जानकारी दिए । वहाँले हाल तरलता संकटको अवस्थामा पनि संघको तरलता पर्याप्त रहेको र जग्गाखरिद पश्चात संघको नकमाउने सम्पत्ति वासलातको ५ प्रतिशतभित्र नै सिमित हुने र संघको जगेडा कोषको परिधि भित्र नै पर्ने उनले जनाए ।

संघका सचिव जगनाथ प्रजापतिले संचालक समितिको तर्फबाट जग्गा खरिद सम्बन्धि प्रस्ताव सभा समक्ष पेश गरेका थिए भने संघका कोषाध्यक्ष कान्छाभक्त घजुले संघको २०७९ चैत्र २६ गतेसम्मको वित्तीय विवरणबारे जानकारी गराएका थिए ।

संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य राख्दै हालको सहकारी समस्या समाधानगर्न सबै एकजुट हुनुपर्ने विचार व्यक्त गरे । सभाको सञ्चालन संघका व्यवस्थापक बालकृष्ण धोंजूले गरेका थिए । सभामा संघमा आवद्ध सदस्य संस्थाबाट १४४ जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।