शनिबार, आश्विन १७ गते २०८३

प्रधानमन्त्रीले थाले ब्याजदर घटाउने पहल, भेटे बैंकर्स

चैत्र २७, २०७९ सोमबार
प्रधानमन्त्रीले थाले ब्याजदर घटाउने पहल, भेटे बैंकर्स

 

प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकतथा वित्तीय संस्थाको ब्याजदर घटाउने पहलस्वरुप बैंकर्ससँग अन्तर्क्रिया गरेका छन् । सोमबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको र ब्याजदर घटाउने उपायहरू खोजिरहेको जनाए । 

“अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ,” प्रधानमन्त्रीले भने ।

विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको भन्दै उनले बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने जनाए । 

भूकम्प, कोरोना, रूस र युक्रेन युद्ध लगायतका कारणले अर्थतन्त्रमा समस्या आएको प्रधानमन्त्रीको दाबी थियो । घरजग्गा कारोबारमा सहजीकरण नगरिकन तरलताको समस्या सम्बोधन गर्न नसकिने उनको भनाइ छ।

“अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदै छौँ । घरजग्गा कारोबारमा सहजीकरण नगरिकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ । त्यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौँ,” प्रधानमन्त्रीले भने ।

ऋण नतिर्ने भन्नु अराजक प्रवृत्ति भएको भन्दै त्यस विषयमा सरकार कठोर हुने जनाए । उनले भने “बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्ने अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन,” 

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृतलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रह गरेका थिए । 

बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा। प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायत उपस्थित थिए ।