शनिबार, आश्विन १७ गते २०८३

बैंकमा लगानीयोग्य पुँजी बढेपनि कर्जाको माग बढेन, चर्को ब्याजदर कारक

चैत्र २६, २०७९ आइतबार
बैंकमा लगानीयोग्य पुँजी बढेपनि कर्जाको माग बढेन, चर्को ब्याजदर कारक

 

बैंकमा तरलता वृद्धि हुँदै गएपनि कर्जाको माग नबढेको तथ्यांकले देखाएको छ । बैंकहरूमा तरलता कम भएकाले निक्षेप बढाउन ब्याजदर बढाएका थिए । त्यसले गर्दा कर्जाको ब्याजदर पनि महँगियो । अहिले तरलतामा केहि सुधार भएतापनि व्यवसायीले कर्जाको माग गर्न आएका छैनन् । यसको प्रमुख कारण चर्को ब्याजदर भएको अनुमान गरिएको छ । बैंकको ब्याजदर उच्च भएको भन्दै उद्योगी, व्यवसायी आन्दोलित हुँदै आएका छन् । उनीहरुले कर्जाको ब्याजदर घटाउन माग गर्दै आएका छन् ।

गत वर्षअघि यही समयमा ४ खर्बभन्दा बढीको कर्जा माग थियो तर अहिले बैंकहरूसँग ऋण प्रवाह गर्न मिल्ने करिब २ खर्ब रुपैयाँ रकम छ, तर कर्जा माग भने कम छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालको बैंकिङ प्रणालीमा गत साताको मध्यसम्म कुल निक्षेप ५४ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४८ खर्ब २३ अर्ब रुपैयाँ छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि चैत २१ सम्म बैंक तथा वित्तीय संस्थामा २ खर्ब ७१ अर्ब रुपैयाँ कुल निक्षेप थपिएको छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन्।

करिब १ खर्ब ६३ अर्ब रुपैयाँ लगानीयोग्य रकम वित्तीय प्रणालीमा रहेको राष्ट्र बैंकले जनाएको छ । तरलता र पुँजी जोड्दा चैत तेस्रो सातासम्म करिब २ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

गत माघ महिनासम्म वाणिज्य बैंकहरूमा कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत थियो । यो एक दशकअघिकै हाराहारी हो । ०६९ असारमा कर्जाको औसत ब्याजदर १३.६० प्रतिशत थियो । यस अवधिमा ब्याजदर सबैभन्दा कम ८.४३ प्रतिशतसम्म पनि झरेको थियो । यस अवधिको निक्षेपको ब्याजदर र अन्य खर्च पनि बढेकाले बैंकको आधारदर वृद्धि भएको बैंकहरूको दाबी छ ।