शनिबार, आश्विन १७ गते २०८३

राजश्व संकलन सुधारोन्मुख : अर्थसचिव राय

चैत्र २२, २०७९ बुधबार
राजश्व संकलन सुधारोन्मुख : अर्थसचिव राय

 

अर्थसचिव तोयम रायले राजस्व संकलन सुधारोन्मुख रहेको जनाएका छन् । नेपाल डेभपलमेन्ट अपटेड सार्वजनिक कार्यक्रममा बाेल्दै उनले चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहेको बताएका हुन् । राजश्व संकलनमा क्रमशः सुधार हुने अपेक्षा गरिएको उनले बताए ।

‘यो वर्ष पर्यटन, कृषि रेमिट्यान्स तथा जलविद्युत क्षेत्रमा राम्रो सुधार भइरहेकाले अर्थतन्त्रलाई त्यसले सकारात्मक बनाउने छ’ सचिव रायाले बताए । आन्तरिक रुपमा भने अझै वित्तीय दबाब रहेको उनले बताए । ‘मुलुकले यो चुनौती सामना गर्न सक्छ भन्ने कुरामा म विश्वास गर्छु’ उनले भने ।

दक्षिण एसियाका सबै मुलुकमा विगत १८ महिनादेखि औद्योगिक उत्पादनमा सुस्ती आएको नेपाल श्रीलंका तथा माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्वोसले बताए ।

भारतमा नै पनि गत वर्षको जुनदेखि डिसेम्बरका बिचमा उत्पादनमूलक क्षेत्र २ प्रतिशतले संकुचन आएको विश्व बैंकको साउथ एसिया इकोनोमिक फोकसले देखाएको छ । बाह्य क्षेत्रको समस्या समाधान गर्न श्रीलंका, बंगलादेश तथा पाकिस्तानले आईएमएफको सहयोग लिएका छन् । नेपालमा पनि आईएमएफको कार्यक्रमका लागि छलफल भइरहेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका प्रमुख प्राडा शिवराज अधिकारीले नेपालले मूल्यवृद्धि, कमजोर पूँजीगत खर्च तथा अन्य प्रणालीगत चुनौती सामना गर्न नीतिगत बदलाब आवश्यक रहेको बताए । अहिलेको आर्थिक अवस्थालाई नेपालले दीर्घकालीन हितका लागि आफ्ना नीतिहरुलाई आमूल परिवर्तन गर्ने काममा लगाउनुपर्ने इक्रा नेपालकी बिजनेस हेड वर्षा श्रेष्ठले बताइन् ।

विश्व बैंकले अर्धवार्षिक ‘कन्ट्री अपटेड’ का अनुसार निर्यात प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति र कम राजस्व संकलन प्रतिबिम्बित गर्ने खुम्चँदो सरकारी खर्चका कारण नेपालको यस वर्षको आर्थिक वृद्धिदर यसअघि प्रक्षेपण गरिएभन्दा कम हुने भएको छ ।