आइतबार, कार्तिक ९ गते २०८३

‘‘ सञ्चालकहरुको कारणले मात्र सहकारीमा समस्या आएकाे हाेइन ’’

चैत्र २२, २०७९ बुधबार
‘‘ सञ्चालकहरुको कारणले मात्र सहकारीमा समस्या आएकाे हाेइन ’’

नेपालको वर्तमान अर्थतन्त्र र सहकारी क्षेत्रमा परेको प्रभाव विषयक अन्तर्क्रिया


सञ्चालकहरुको कारणले मात्र नभई समग्र अर्थतन्त्रमा आएको संकटका कारण तरलता व्यवस्थापनमा समस्या भएको सहकारीकर्मीहरुले बताएका छन् ।

ललितपुरमा आयोजित ‘नेपालको वर्तमान अर्थतन्त्र र सहकारी क्षेत्रमा परेको प्रभाव’ विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले समग्र अर्थतन्त्रमा प्रभाव परेका कारण सहकारीमा तरलता चाप परेको बताएका हुन्  । अर्थतन्त्रमा शिथिलता आउँदा त्यसको प्रभाव व्यापारव्यवसायमा परेको र सदस्यहरुले ऋणको साँवा व्याज समयमा तिर्न नसक्दा तरलता व्यवस्थापनमा समस्या भएको उनीहरुको भनाई छ । सहकारीको समस्यामा राज्य मूकदर्शक बनेको र अभियानले उठाएका कतिपय यथोचित मागप्रति पनि सरकार गम्भीर नभएको उनीहरुको आरोप छ ।

राज्यको सहकारीप्रति हेर्ने दृष्टिकोण नै गलत भएको भन्दै उनीहरुले सहकारीकर्मी भागेर कहिँ नजाने बताए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनीहरुले सहकारीका समस्याको समाधानका लागि महानगरले नेतृत्व लिइदिन समेत आग्रह गरे । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले राज्यले सहकारीको समस्या सुनुवाइ नगरेको प्रति आपत्ति जनाइन् । उनले सहकारी क्षेत्रको समस्याका बारेमा प्रधानमन्त्री, मन्त्री, सचिव र सहकारी विभागका रजिष्ट्रार समेतलाई बारम्बार जानकारी गराइएको भएतापनि सुनुवाई नहुन खेदजनक भएको बताइन् । सहकारीमा सन्दर्भ ब्याजदर स्वचालित नहुँदा र बैंकवित्तीय संस्थाले अस्वाभाविक ब्याज बढाउँदा सदस्यले बचत निकालेर लगेको उनको भनाई छ । कोभिड पछिसम्म सहकारीमा पर्याप्त तरलता रहेको भए पनि बैंकहरुमा तरलताको कमीले महत्वाकाङ्क्षी योजना अघि सार्दा त्यसको प्रभाव सहकारीमा परेको उनको दावी छ ।

रजिष्ट्रारलाई सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बस्न बारम्बार हात जोड्दा पनि कुनै सुनुवाई भएन, उनले भनिन्, ‘सन्दर्भ ब्याजदर परिमार्जन नहुँदा सहकारीले ब्याज बढाउन सकेनन् र सदस्यले पैसा झिकेर बैंकमा लगे ।’ सबै सहकारी सिद्धान्तमा चलेनन् होला उनी भन्छिन्, ‘सबै सहकारी शतप्रतिशत राम्रा छन् भन्न सकिँदैन । सहकारीमा केही कमजोरी होला । तर यसको व्यवस्थापन गर्नु राज्यको पनि दायित्व हो ।’ केहि सहकारीले गल्ती गर्दा सबै सदस्य बचत फिर्ता माग्न आए, विश्वासको कमी हुन गएको र अहिले यो अवस्था आएको उनको दावी छ । सहकारीले गरेको ऋण उठ्न सकिराखेको छैन्, यसमा सरकारको सहयोग माग्दा कुनै सहयोग नपाएको उनले बताइन् । ऐनमा भएका व्यवस्था कार्यान्वयन गर्न राज्यलाई भनेपनि नसुनेको उनले गुनासो पोखिन् । सरकारसँग अनुदान नभइ सहुलियत कर्जा माग गरेको उनको भनाई छ।

त्यसैगरी जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खालीले अहिलेको समस्या सहकारीको मात्र नभई समग्र अर्थतन्त्रनै समस्यामा परेकाले यस्तो अवस्था आएको बताए । विश्वमा आएको आर्थिक मन्दीको प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको भन्दै उनले त्यसको प्रभाव सहकारी क्षेत्रमा पर्नु स्वाभाविक भएको जनाए । सहकारी भागे भन्ने आरोप लागेको भएपनि सहकारी यहि रहेको र सदस्यलाई सेवा दिइराखेको उनले बताए । सहकारीप्रति गलत बुझाई रहेकाले अहिलेको समस्या  आएको उनको भनाई छ ।

ऐनमा भएका केही व्यवस्था कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको भए पनि सरकारले सुनुवाई नगरेको उनको आरोप छ । अहिले कार्यालय खोलेर काम गर्ने वातावरण नरहेको र सञ्चालक र कर्मचारीलाई निशाना बनाइएको उनले बताए । सहकारीले ससानो बचत संकलन गरेर सदस्यलाई नै ऋण लगानी गर्ने गरेको र समग्र अर्थतन्त्रमा परेको असरका कारण ऋण असुलीमा समस्या भएको उनले बताए । जसले गर्दा सदस्यले चाहे जति बचत फिर्ता गर्न नसकिएकोे उनले जनाए । गलत गर्नेलाई कारवाही गर्न र राम्रा काम गर्ने सहकारीलाई प्रोत्साहान गर्न उनको माग छ ।

बहुउदेश्यीय सहकारी संघ, ललितपुरका अध्यक्ष शरद मर्हजनले केहि  संस्थामा समस्या आउँदैमा समग्र सहकारी अभियानलाई समस्याग्रस्त भन्न नमिल्ने बताए । सरकारले ऐनमा व्यवस्था गरेको स्थिरिकरण कोषलाई लागु गर्न सकेको भए सहकारी संस्थाहरुलाई तरलता व्यवस्थापनमा कसैको मुख ताक्नु पर्दैन थियो , उनले भने ‘त्यसैगरी कर्जा सुचना केन्द्र, ऋण असुली न्यायाधिकरण र बचत सुरक्षण कोष ल्याएको भए सहकारीमा यो हदको समस्या आउने थिएन ।’ ऐनमा नियमन, अनुगमनको जिम्मा संघहरुलाई दिने भनेपनि भुमिका स्पष्ट नपारिएको र सरकारले पनि प्रभावकारी अनुगमन गर्न नसक्दा सहकारीमा समस्या बढेको उनको दावी छ । नयाँ ऐन आए पछि कति सहकारीको अनुगमन भए उनले प्रश्न गरे ?  सहकारीको नियमन स्थानीय र प्रदेश सरकारको भूमिका शुन्य रहेको उनको दावी  छ । सहकारीकर्मीको कारणले मात्रै सहकारीमा समस्या नआएको भन्दै उनले समस्या आउनुको दोष सहकारीलाई मात्र नथुपार्न राज्यलाई चुनौती दिए ।

lalitpur 2.jpg

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, बागमती प्रदेश सहकारी संघका अध्यक्ष जगत मर्हजन लगायतले सहकारीका समस्याका बारेमा चर्चा गरेका थिए ।

ललितपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बजगाईले सहकारी क्षेत्र अप्ठ्यारोमा रहेको र कसरी समाधान गरी अगाडी लैजान सकिन्छ भनेर निकास खोज्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि एवं राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिवी नेपालले वाह्य कारणले भन्दा पनि आन्तरिक कारणले अर्थतन्त्रमा समस्या आएको बताए । भारतको अर्थतन्त्र समस्यामा परे त्यसको असर नेपाली अर्थतन्त्रमा पर्न सक्ने भन्दै उनले अर्थतन्त्र समस्यामा पर्नुमा बाह्य कारण नरहेको जनाए । नीतिगत रुपमा केही खुकुलो गरे अर्थतन्त्र लयमा फर्कने उनको दावी छ । कोभिड पछि सिथिल भएको अर्थतन्त्रलाई चलायमान गर्न सस्तो ब्याजदरमा बैंकहरुले ऋण दिए र त्यो ऋण कहाँ लगानी भयो त्यसको लेखाजोखा भएन, उनले भने,‘संसारभर खुकुलो मौद्रिक नीति बन्यो, सरकारको वित्तीय नीतिले पनि सबै क्षेत्रमा पैसा दिने भन्यो । अमेरिकाले जनताको खातामा पैसा पठाइदियो । विकासशील र कम विकाशशील देशमा ब्याजदर कम गरेर भएको पैसालाई बजारमा पठाइयो । सरकारले जहाँ र जुन सुकै क्षेत्रमा पैसा पठायो, उनले थपे, ‘केन्द्रिय बैंकले पनि फितलो म्रौदिक नीति ल्यायो । बजारमा प्रशस्त पैसा गयो । बैंकका सिइओहरुले घर घरमा गएर बोलाएर पैसा दिए ।’

कोभिडको कारण असामान्य स्थिति आएकाले बैंकहरुले त्यस्तो नीति लिएको उनको भनाइ छ । फितलो मौद्रिक नीति, फितलो बजेट र पब्लिकले पैसा निकालेर घरमै राख्नुका कारणले अर्थतन्त्रमा समस्या आएको उनको अनुमान छ । भुकम्प र नाका बन्दीमा जुन पोलिसी लागू भएको थियो त्यहि पोलिसी कोभिडको बेला लागू गरिएको हो । असामान्य अवस्थामा दिएको ऋण सामान्य अवस्था आएपछि ब्याज बढ्न थाल्यो । जसको कारण अर्थतन्त्र समस्यामा परेको उनको भनाई छ । हामीले बैंकहरुले सित्तैमा पैसा दिए जसरी लियौं र अर्थतन्त्र सामान्य अवस्थामा आउन थोले पछि पोलिसीलाई विस्तारै रिभ्यु गर्नुपर्नेमा त्यो गर्न नसक्दा समस्या बढ्यो । असमान्य स्थितिमा लिएको नीतिलाई सामान्य स्थितिमा लागू गर्न  खोजियो । बैंकमा जम्मा भएको ३ सय अर्ब पैसा जुन तरिकाले बजारमा गयो त्यहि तरिकाले फिर्ता  आएन ।

राष्ट्र बैंकले २०७८ अशोजमा १० प्रतिशत भन्दा बढी ब्याज निक्षेपमा नदिन भन्यो । जाने पैसा सबै गयो तर ब्याजदरका कारण नयाँ पैसा आएन । मान्छेले विभिन्न तरिकाले लगानी गरे र बैंकमा फर्किएन । पैसाले वित्तीय अनुशासन खोज्ने भएकाले अनुशासनमा नबस्नेका लागि यसले समस्या निम्त्याउने उनले बताए । अहिले बैंकमा पैसा भएपनि सप्लाई नहुँदा मन्दी आएको उनको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा सम्र्पक नभएको र निर्यात सामान्य रहेको भन्दै उनले विश्व बजारको असर अर्थतन्त्रमा नपर्ने बताए । कम बजेट खर्च, न्युन विदेशी सहयोग र आयातमा प्रतिबन्धका कारण व्यापार व्यवसायमा असर पर्दा अर्थतन्त्रमा मन्दी आएको उनको भनाई छ । हामीले सृजना गरेको समस्या भएकाले हामीले नै समाधान गर्न सक्छौं, उनले भने, २/४ वटा पोलिसी परिमार्जन वा सन्तुलित गर्ने वित्तिकै बजारमा पैसा आउँछ र अर्थतन्त्रले गति लिन्छ उनले भने । बैंक तथा वितीय संस्था राम्रो हुने बित्तिकै सहकारी पनि स्वतः राम्रो हुने उनको भनाइ छ ।