आइतबार, कार्तिक ९ गते २०८३

राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा

चैत्र २१, २०७९ मंगलबार
राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा


राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा चैत्र २३, २४ र २५ गते हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको छ ।

राजधानीको होटल याक एण्ड यतिमा आयोजना हुने महासम्मेलनमा देशभरका सहकारीकर्मी, नेपाल सरकारका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, स्थानिय तहका प्रतिनिधि, बैंकर्स, गैरसरकारी संस्थाका प्रतिनिधि, सहकारीका सरोकारवाला निकायका प्रतिनिधिका र विदेशी पाहुनासहित करिब १ हजार जनाको सहभागिता रहने आयोजक सहकारी महासंघले जनाएको छ । 
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले महासम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ । महासम्मेलनमा सहकारी क्षेत्रको उपलब्धी, सहकारी क्षेत्रमा देखिएको वर्तमान समस्या, समाधानको बाटो, आगामी कार्यदिशाको बारेमा घनिभूत छलफल हुने महासंघका अध्यक्ष मिनराज कडेलले जानकारी दिए । साथै महासम्मेलनबाट सन् २०३० सम्मको कार्यदिशा पनि तय गरिने बताए ।

दक्षिण एशियाका अन्य देशहरू मध्ये राष्ट्रको विकास प्रकृयामा नेपालको सहकारी अभियानको प्रभाव महत्वपूर्ण रहँदै आएकोले यो महासम्मेलनलाई एसिया प्यासिफिकका देशहरूले समेत महत्व दिएको महासंघका अध्यक्ष कडेलले बताए । महासम्मेलनकै अवसरमा अन्तर्राष्ट्रिय सहकारी महासंघ, एसिया प्रशान्त क्षेत्र र नेडाकको बोर्ड बैठक समेत काठमाडौँमा हुने अध्यक्ष कडेलले बताए ।

महासम्मेलनको उद्घाटन चैत २३ गते (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन चैत २५ गते (शनिबार) पूर्व प्रधानमन्त्री एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले जानकारी दिईन । महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल गरी घोषणा पत्र जारी गरिने महाप्रबन्धक सुब्बाले बताईन ।